काठमाडौँ - आइसिसी विश्वकप लिग-२ अन्तर्गत एकदिवसीय त्रिकोणात्मक सिरिजमा घरेलु टोली पपुवा न्यूगिनी (पिएनजी) र अमेरिकाबीचको खेल रोमाञ्चक बराबरीमा सकिएको छ।
आज सम्पन्न खेलमा २ सय ६ रनको लक्ष्य पछ्याएको पिएनजी ४९.५ ओभरमा सबै विकेट गुमाएर २ सय ५ रन नै बनाएपछि खेल बराबरीमा टुङ्गिएको हो। अन्तिम ओभरमा पिएनजीलाई जितका लागि ३ रन आवश्यक थियो। तर, उसले यो ओभरमा २ विकेट गुमाएर २ रन मात्र बनायो। पिएसजीका लागि सेसे बाउले ७० रनको उत्कृष्ट पारी खेलेका थिए। ९६ बलको सामना गरेका उनले ३ चौका र १ छक्का प्रहार गरेका थिए।
कप्तान असाद भालाले ४०, लिगा सियाका र नोर्मन भानुआले १७/१७, चाड सोपेरले १६ तथा चाल्र्स अमिनीले १३ रन जोडेका थिए। अमेरिकाका लागि सौरभ नेत्रावल्कर, नस्तुष केन्जिगे र स्टेभन टेलरले २-२ तथा जेसी सिंह, क्यामरोन स्टेभनसन, निशर्ग पटेल र जसकरण मल्होत्राले १/१ विकेट लिएका थिए।
त्यसअघि अमिनी पार्कमा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ४७ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियो। उसका लागि गजानन्द सिंह र जसकरण मल्होत्राले अर्धशतकीय पारी खेलेका थिए। सर्वाधिक ५८ रनको योगदान दिएका सिंहले ९० बलमा ५ चौका र १ छक्का प्रहार गरेका थिए।
मल्होत्राले ४४ बलमा ८ चौका र १ छक्कासहित ५३ रन बनाएका थिए। निशर्ग पटेलले २४, जेसी सिंहले १७, नस्तुष केन्जिगेले १५ तथा कप्तान मोनांक पटेलले १२ रन जोडेका थिए। पिएनजीका लागि सेमो कामियाले ३, दामिया राभु र चाड सोपेरले २/२ तथा सेसे बाउ, नोर्मन भानुआ र चाल्र्स अमिनीले १/१ विकेट लिएका थिए।
यो नतिजासँगै २९ खेलमा २९ अंक जोडेको अमेरिका तेस्रो स्थानमा रहँदा २१ खेलमा ३ अंकका साथ पिएनजी पुछारमा रहेको छ। नामिबियासमेत सम्मिलित सिरिजको दोस्रो खेलमा पनि मंलबार पिएनजी र अमेरिकाले नै प्रतिस्पार्धा गर्नेछन्।
त्यस्तै, विश्वकप लिग-२ मा नेपालले अहिलेसम्म २० म्याच खेलेको छ। जसमा नेपालले ८ मा जित र ११ खेलमा हार व्यहोरेको छ। १ खेल बराबरी खेलेको नेपाल तालिकाको छैटौं स्थानमा रहेको छ।