काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तान शुक्रबार टुंगो लाग्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लले साँझसम्म नयाँ कप्तानको टुंगो लाग्ने बताएका छन्। नेपालले यूएईसँग शृंखला खेल्नुअघि नयाँ कप्तानबारे निर्णय हुन लागेको हो।
मल्लका अनुसार शुक्रबार छनोट समितिको बैठक बस्दैछ। ‘साँझसम्म नयाँ कप्तानको नाम बाहिर आउनेछ’। बलात्कारको आरोप लागेका कारण तत्कालीन कप्तान सन्दीप लामिछानेलाई क्यानले निलम्बन गरेपछि उक्त पद रिक्त छ। सन्दीप मुद्दा पुर्पक्षका लागि थुनामा रहेका छन्।
सन्दीप गत पुसमा नेपाली क्रिकेट टोलीको कप्तान बनेका थिए। तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ललाई अनुशासन कारबाही गर्दै पदबाट हटाएर सन्दीपलाई जिम्मेवारी दिइएको थियो। त्यतिवेला दीपेन्द्रसिंह ऐरीलाई पनि कारबाही गर्दै उपकप्तानबाट हटाइएको थियो।
ऐरीको स्थानमा रोहित पौडेलले उपकप्तानको जिम्मेवारी दिइएको थियो। पछिल्लो राष्ट्रिय टोलीमा दीपेन्द्र, ज्ञानेन्द्र र रोहित तीनै जना थिए। स्रोतका अनुसार यीमध्ये १ जनालाई कप्तानको जिम्मेवारी दिइनेछ। कार्यबाहक सचिव मल्लले पछिसम्मलाई हेरेर कप्तान नियुक्त गरिने बताएका छन्।
काठमाडौँमा अहिले एकदिवसीय स्वरुपको प्रधानमन्त्री कप क्रिकेट भइरहेको छ। नेपालसँग खेल्न यूएईको टोली शनिबार आइपुग्ने क्यानले जनाएको छ। नेपाल र यूएईबीच कात्तिक २८, ३० र मंसिर २ गते ३ ख्वटा एकदिवसीय खेल हुँदैछ।