काठमाडौँ - प्रदिप शाहीको निर्देशनमा निर्माण भइरहेको नेपाली फिल्म ‘अन्तिम संस्कार’ को हिमाली जिल्ला मुस्ताङमा चालिस प्रतिशत छायांकन पुरा भएको छ। शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण भई रहेको यो फिल्म केही दिनअघि मुक्तिनाथ मन्दिरमा शुभ मुहर्त गरेर छायांकन प्रारम्भ गरिएको थियो।
सांस्कृतिक तथा सामाजिक कथावस्तु समेटिएको ‘अन्तिम संस्कार’ को छायांकन गर्न अग्रज कलाकार विजय लामासहितको फिल्म युनिट मुस्ताङ पुगेका थिए। फिल्म युनिटले मुस्ताङमा करिब ४० प्रतिशत छायांकन सकेर काठमाडौँ फर्किएको छ।
मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा यो फिल्मको छायांकन गरिएको निर्माता विनोद सुवेदी खत्री (टाटेमित) ले जानकारी दिएका छन्। यो फिल्मका निर्माता विनोद सुवेदी हुन्।
झन्डै डेढ करोड लागत रहेको यो फिल्ममा कलाकार विजय लामासहित दिया पुन, कृष्णभक्त महर्जन, यमनराज उप्रेती, श्याम राई, सारदा गिरी, त्रिचु राई,सश्मिता गिरी र दिग्गज खत्री लगायतको अभिनय छ।
फिल्मको छायांकन बाबु श्रेष्ठले गर्दैछन्। निर्देशक शाहीको ‘अन्तिम संस्कार’ दोस्रो फिल्म हो। उनको निर्देशनमा बनेको पहिलो फिल्म ‘गोर्खा बिनिथ द ब्रेभरी’ प्रर्दशन भइसकेको छ।