काठमाडौँ - इंग्लिस क्लब टोटेनहम हटस्परले क्याटलान क्लब बार्सिलोनाका फ्रान्सेली सेन्टर ब्याक क्लेमेन्ट लेङलेटलाई अनुबन्ध गरेको छ। २७ वर्षीय लेङ्लेट एक सिजनका लागि लोनमा टोटेनहममा अनुबन्धित भएका हुन्।
लेङ्लेट पछिल्लो समय बार्सिलोनाको पहिलो रोजाईमा पर्न सकेका छैन। उनले गत सिजन बार्सिलोनाका लागि केवल २७ खेलमा मात्रै मौका पाउँदा स्पेनिस ला लिगामा ७ खेलमा मात्रै सुरुवाती रोजाईमा अवसर पाएका थिए।
२०१८ मा अर्काे स्पेनिस क्लब सेभियाबाट बार्सिलोना पुगेका लेङ्लेटले चार सिजनमा १६० खेलमा ७ गोल गरेका छन्। २०१९ देखि फ्रान्सेली टोलीमा रहेका उनले बार्सिलोनाबाट एकपटक ला लिगा, कोपा डेल रे र स्पेनिस सुपर कोपा जितेका छन्। उनले फ्रान्सबाट १५ क्याप जित्दा एक गोल गरेका छन्।
बार्सिलोनाले लेङ्लेटलाई २०१८ मा ३२ मिलियन युरो खर्चेर ल्याएको थियो। सम्झौतामा उनको रिलिज क्लज २६५ मिलियन युरो राखेको थियो। तर उनले बार्सिलोनामा अपेक्षाकृत प्रदर्शन गर्न सकेनन्।
इभान पेरिसिस, फ्रासेर फोर्सटर, यभेस विसौमा र रिचार्लीसन यसअघि नै टोटेनहममा अनुबन्धित भइसकेका छन्।