काठमाडौँ - हरितारा चलचित्र पुरस्कार विशिष्ट चलचित्रकर्मी अभिनेत्री मिथिला शर्मा पाउने भएकी छिन्। संरक्षक मनोज शम्सेर जबराको अध्यक्षतामा बसेको बैठकले २०७७ सालको पुरस्कार शर्मालाई दिने निर्णय गरेको हो।
२०५२ सालमा समाजसेवी श्रीमती विजया राणा (तारा नानी) ले आफू र आफ्ना पति हरि शम्सेरको नाममा अक्षय कोष राखेर हरितारा चलचित्र पुरस्कार स्थापना गरेकी थिइन्।
२०७७ सालको पुरस्कार ४ दशक भन्दा बढी समय देखि नेपाली चलचित्र क्षेत्रको उत्थान, संरक्षण र पेसाकर्मीको हक हितका साथै नेपाली कला संस्कृति, रङ्गमञ्च एवं नेपालको गौरव देश विदेशमा पुर्याउन महत्त्वपूर्ण योगदान गरेकोमा अभिनेत्री शर्मालाई दिन लागेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
सोही बैठकले २०७८ सालको हरितारा चलचित्र पुरस्कार रङ्ग पत्रकार विदुर गिरीलाई दिने निर्णय समेत गरिसकेको छ।