काठमाडौँ - कर्णाली प्रदेशमाथि ४४ रनको जित निकाल्दै विभागीय टोली एपिएफ काठमाडौँमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा शनिवार भएको खेलमा एपिएफले कर्णालीलाई ४४ रनले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो। एपीएफले दिएको २ सय ३५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णालीले ४८ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ९० रन मात्र बनाउन सक्यो।
कर्णालीका लागि रविन्द्र शाहीले ८० रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन्। यस्तै विपिन शाहीले ३४ रन जोड्दा अर्जुन घर्तीले २४ तथा दिनेश अधिकारीले २० रन बनाएका थिए। एपीएफका मौसम ढकालले ४ विकेट लिए। कमल ऐरी र भुवन कार्कीले २/२ विकेट लिएका थिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले आसिफ शेखको शतकीय पारीको सहयोगमा ४७ ओभर २ बलमा अलआउट हुँदै २ सय ३४ रन बनाएको थियो। एपीएफका लागि आसिफ शेखले १ सय ३० रनको शतकीय इनिङ खेलेका थिए। १ सय ३६ बलको सामना गरेका आसिफले १५ चौका र १ छक्का प्रहार गरेका थिए।
यस्तै भुवन कार्कीले २३ रन जोड्दा प्रदीप ऐरीले २० रन बनाएका थिए। लोकेश बम र दीपक बोहराले १०/१० रन बनाएका थिए। कर्णालीका दीपेन्द्र रावत र प्रकाश जैसीले ३/३ विकेट लिएका थिए। दिवन पुनले २ विकेट लिए। यस जितसँगै एपीएफले ४ खेलमा ७ अंक जोडेर अन्तिम ४ मा स्थान पक्का गरेको हो। एपीएफ शीर्ष स्थानमा रहेको छ। कर्णालीले भने लगातार दोस्रो हार भोगेको छ।