११ औं राष्ट्रिय खेलकुद प्रतियोगिता मधेश प्रदेशमा हुने सम्भावना

काठमाडौँ - राष्ट्रिय खेलकुद परिषद राखेपले अहिले जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोह र व्यवस्थापनको विषयमा समीक्षा गरेको छ।

राखेपका अध्यक्षसमेत रहेका युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहताराजको उपस्थितीतिमा शनिबार राति भएको समिक्षा बैठकमा उपाध्यक्ष, सदस्यसचिव र सदस्यहरुको सहभागिता रहेको थियो। बैठकमा उद्घाटन समारोहमा भएका गल्ति कमी कमजोरीहरु सच्याउँदै समापन समारोह भव्य र सभ्य बनाउन कुनै कसर बाँकी नराख्ने निर्णय भएको छ।

यसैगरी २ वर्षपछि दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा हुने पक्का भएको छ। जुन आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन (तत्कालिन प्रदेश ५) लुम्बिनीको नेपालगन्जमा हुँदा नवौं गण्डकी र दशौं कर्णालीमा गर्ने सहमति भएको थियो।

अब राखेपको बोर्ड बैठकले ११ औं राष्ट्रिय खेलकुद प्रतियोगिता कहाँ गर्ने भन्ने विषयमा निर्णय लिनुपर्ने छ। त्यसका लागि राखेपको बोर्ड बैठक कार्तिक २ गते पोखरामा बस्ने तय भएको छ। अहिलेसम्म ११ औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनका लागि प्रदेश १, बागमति, मधेश प्रदेश र सुदूरपश्चिमले दावी गरेका छन्।

बागमतिमा पाँचाैं,  प्रदेश १ मा सातौं तथा सुदूरपश्चिममा छैटौं राष्ट्रिय खेलकुद भइसकेकाले ११ औं राष्ट्रिय खेलकुद प्रतियोगिता मधेश प्रदेशमा हुने सम्भावना रहेको छ।

राखेपका एक सदस्यका अनुसार अहिले ४ वटा प्रदेशले दावी गरे पनि अत्याधिक सम्भावना मधेश प्रदेशको रहेको छ। राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदा पूर्वाधारहरु निर्माण हुने भएकाले आलोपालो प्रतियोगिता आयोजना गराउनु पर्नेमा सबै एकमत छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×