काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने श्रीलंकाको लंका प्रिमिर लिगमा आबद्ध भएका छन्। सन्दीपलाई दमुल्ला जायन्ट्सले अनुबन्ध गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्।
जायन्ट्सले डायमन्ड क्याटेगोरीबाट सन्दीपलाई ४० हजार अमेरिकी डलरमा भित्र्याएको हो। लंका टी-२० प्रिमियर लिगमा ५ टोलीले प्रतिस्पर्धा गर्नेेछन्। दम्बुलाले श्रीलंकन कप्तान दसुन सनाका, भानुका राजापाक्षदेखि अस्ट्रेलियाका डी आर्च सर्ट र बेन कटपङलाई पनि अनुबन्ध गरेको छ।
लंका प्रिमियर लिगका लागि ३ सय ५३ खेलाडी अक्सनको ड्राफ्टमा रहेका थिए। यसमध्ये १ सय ८० विदेशी र १ सय ७३ खेलाडी श्रीलंकाकै थिए। सन्दीपले अहिलेसम्म बिग बास लिग (बिबिएल), इन्डियन प्रिमियर लिग (आइपिएल)सँगै विश्वका चर्चित फ्रेन्चाइज लिग खेलिसकेका छन्।
तेस्रो संस्करणको लंका प्रिमियर लिग ३१ जुलाईदेखि २१ अगस्टसम्म चल्नेछ। प्रतियोगितामा कुल २४ खेलहरू हुनेछ। अघिल्ला २ संस्करणको उपाधि जाफना किङ्सले जितेको थियो।