कप्तान पुरनको उत्कृष्ट ब्याटिङमा वेस्टइन्डिजलाई सिरिज

काठमाडौँ - कप्तान निकोलस पुरनको अर्धशतकमा घरेलु टोली वेस्टइन्डिजले तेस्रो टि-२० आई खेलमा बंगलादेशलाई ५ विकेटले हराउँदै सिरिज जितेको छ। तीन खेलको सिरिज वेस्टइन्डिजले २-० ले जितेको छ।

जितको लागि १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले १८.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो। वेस्टइन्डिजका विकेटकिपर तथा निकोलस पुरनले ३९ बलमा ५ चौका र ५ छक्कासहित ७४ रनमा अविजित रहे। पुरनले महमुदूल्लाह रियादलाई छक्का प्रहार गर्दै खेल सकाएका थिए।

ओपनर कायल मयर्सले ३८ बलमा २ चौका र ५ छक्कासहित ५५ रन बनाए। अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन्। बंगलादेशका नासुम अहमदले सर्वाधिक २ विकेट लिए।

त्यसअघि गयानामा टस जितेर पहिला ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो। बंगलादेशका अफिफ हुसैनले ३८ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ५० रनको योगदान गरेका थिए। ओपनर लिटन दास ४१ बलमा ३ चौका र २ छक्कासहित ४९ रनमा आउट भए। सकिब अल हसन ५, महमुदूल्लाह २२ र मोकाद्देक हुसैनले १० रन बनाएका थिए।

वेस्टइन्डिजका स्पिनर हायडन वाल्श जुनियरले सर्वाधिक २ विकेट लिए। पहिलो खेल वर्षाको कारण रद्ध हुँदा दोस्रो खेलमा वेस्टइन्डिज ३५ रनले विजयी भएको थियो। अव वेस्टइन्डिज र बंगलादेशबीच ३ ओडिआई सिरिज हुनेछ। पहिलो खेल आइतबार हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×