काठमाडौँ - म्याग्दीको रघुगङ्गा गाउँपालिका– २ भगवतीमा खरविर–सिम्ले सिँचाइ योजनाको नहर निर्माण भएको छ।
खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालय म्याग्दीको अनुदान सहयोगमा उपभोक्ता समितिले पक्की संरचना बनाएका हुन्। कार्यालयका सव–ईञ्जिनियर अञ्जन खत्रीले ४५० मिटर पक्कि नहर निर्माण भएको बताए। “म्याग्दीमा चालु आर्थिक वर्षमा सञ्चालित मध्य खरविर–सिम्लेको नहर सबैभन्दा छिटो निर्माण सकियो”, उनले भने, “उपभोक्ता समितिको सक्रियताका कारण लक्ष्य अघिनै नहर निर्माण भएको हो।” सो सिँचाइ योजना निर्माणका लागि खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालय म्याग्दीले चालु आर्थिक वर्ष २०७८-७९ मा रु. २० लाख बजेट विनियोजन गरेको थियो। उपभोक्ता समितिले रु. दुई लाख २३ हजार बराबरको श्रमदान गरेर नहर बनाएको जनाएको छ।
खरविर–सिम्ले सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष भगवान केसीले शेरमा २७० मिटर र तल्लो शेरमा १८० मिटर नहर निर्माण भएको जानकारी दिए। स्थानीय मजदुर परिचालन गरेर शुरु गरेको २३ औं दिनमा योजना निर्माण सम्पन्न गरेको उनले बताए। सिँचाइ सुविधा भएपछि आकाशे पानीको भरमा खेती गर्दै आएका कृषकहरूलाई राहत मिलेको छ। यसअघि कच्ची नहरमा थोरै स्रोतको पानी चुहावट हुने समस्या थियो। धान गहुँ मकै, फलफूल र तरकारी खेती गर्न सहज भएको स्थानीय अनोज केसीले बताए। करिब तीन सय रोपनी जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ। खरविरसँगै सिम्ले लगायतका फाटँका कृषकको माग अनुसार यस नहर निर्माणलाई पुर्णता दिन आगामी आर्थिक वर्षमा बजेटको लागि पहल गरेर सफल बनाउने योजना रहेको वडा अध्यक्ष रिमबहादुर कटुवालले बताए।
खेतीबालीमा सिँचाइ गर्न पालो कुर्नुपर्ने अवस्था ओखरबोट, खौरटे, सिम्ले लगायतका क्षेत्रका कृषकको बाध्यता हट्ने अपेक्षा गरिएको छ। सिँचाइको अभाव हुँदा हिउँदे खेती गहुँ, आलु लगायतको खाद्यबालीमा मेहनत अनुसारको आम्दानी हुन सकेको थिएन्।