खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पर्यटकीय स्थल बगरे भञ्ज्याङमा आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्न थालेको छ । नेर्पा, खार्मी र पाथेकाको सिमानामा पर्ने पर्यटकीय स्थल बगरे भञ्ज्याङमा २७ मिटर अग्लो ‘पेन टावर’ निर्माणाधीन छ । पछिल्लो दिनमा यसलाई अवलोकन गर्न, सेल्फी खिच्न र वनभोज (पिकनिक) खान आउने आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्न थालेको हो ।
समुद्री सतहबाट करिब एक हजार ८०० मिटर उचाइमा टावर रहेको छ । स्थानीयवासी डम्बर भुजेल भने, “निर्माणाधीन पेन टावर पर्यटकका लागि खुला गरिएको छैन । भौतिक पूर्वाधार पर्याप्त नभए पनि अवलोकन गर्न, सेल्फी खिच्न र पिकनिक खान हुलकाहुल मान्छे आउने गरेका छन् ।”
सो टावरको काम ९० प्रतिशत सकिएको र आगामी चैत मसान्तभन्दा अगाडि नै सम्पन्न गरेर सञ्चालनमा ल्याउने तयारी गरिएको नगरप्रमुख दीपनारायण रिजालले जानकारी दिए । “निर्माणाधीन पेन टावरमा फिनिसिङको काममात्र गर्न बाँकी छ”, उनले भने, “निर्माण सम्पन्न गरेर बढाबढमा ठेक्का आव्हान गर्छौँ । बढीमा चलाउन सक्छु भनेर आधार पेश गर्छ । उसैमार्फत नयाँ वर्षभन्दा पहिले नै सम्झौता गरेर व्यवस्थितरुपले सञ्चालन गर्ने तयारी गरिएको छ ।”
सङ्घीय सरकारको समपूरक कोषअन्तर्गतको रु ७२ लाख लगानीमा बनिरहेको सो टावरमा दृश्यावलोकन गर्ने ठाउँ र प्रवेशद्वारको काम बाँकी रहेको जनाइएको छ । टावरबाट सर्वोच्च शिखर सगरमाथालगायत उच्च हिमाली शृङ्खला तथा तराईका फाँटको दृश्यावलोकन गर्न सकिन्छ ।
टावर परिसरमा पिकनिक स्पोर्टस (वनभोज स्थल) निर्माणको काम पनि धमाधम भइरहेको छ । यसका लागि १ नं प्रदेश सरकारको समपूरक कोषको रु ७१ लाख लगानी रहेको नगरपालिकाले जनाएको छ ।
पर्यटकलाई लक्षित गरेर कृत्रिम तालसमेत निर्माण भइरहेको छ । ‘रुरु ताल’ भनेर नामकरण गरिएको कृत्रिम तालका लागि नगरपालिकाको क्रमागत बजेट अन्तरगत यस वर्ष रु ५४ लाख लगानीमा काम सुरु गरिएको हो । तीन वर्षभित्र सम्पन्न गरिने तालको काम रु दुई करोड ५७ लाखमा सम्पन्न हुने निर्माण उपभोक्ता समितिका अध्यक्ष भोगेन राईले बताए । “करिब दश मिटर उचाइको पर्खाल निर्माण गरेर बनाइने तालभित्र करिब सात मिटर गहिराइमा पानी जम्नेछ”, उनले भने, “ तालमा डुङ्गा सयर गरेर मनोरञ्जन गर्नुका साथै आसपासमा पानीको मुहान बढ्ने अपेक्षा गरिएको छ ।”
नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधीन कृत्रिम ताल १८० मिटर लम्बाई र १५० मिटर चौडाइको हुने जनाइएको छ । निर्माणाधीन कृत्रिम तालमा पानीको अभाव भएमा आसपासका मुहानबाट ल्याएर लगाउने योजनासमेत बनाइएको निर्माण उपभोक्ता समितिले जनाएको छ ।
नगरपालिकाको क्रमागत योजनाअन्तर्गत यस आर्थिक वर्ष रु ५४ लाख बजेटबाट काम सुरु गरिएको दिक्तेल–पाथेका सडक खण्डमा पर्ने बगरे भञ्ज्याङको पेन टावर, कृत्रिम ताल र पिकनिक स्पोर्टसले जिल्लाको पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने अपेक्षा गरिएको छ । वर्षात्का समयमा ओत लागेर बस्न मिल्ने स्टिल ट्रष्टसमेत निर्माण गरिने निर्माण उपभोक्ता समितिले जनाएको छ ।
बगरे भञ्ज्याङको चौतर्फी विकासमा नगरपालिकाले चासो देखाएपछि स्थानीयवासी हर्षित छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट करिब दुई घण्टा पैदल यात्रामा पुगिने पर्यटकीय स्थल बगरे भञ्ज्याङमा पर्यटन प्रवर्द्धनको काम सुरु भएपछि स्थानीयवासीले होटेल तथा रेस्टुराँ खोल्न जग्गासमेत खरिद गर्न थालेका छन् ।
मध्य पहाडी लोक मार्गमा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल भुलभुले दूध कुण्डको शिरमा पर्ने बगरे भञ्ज्याङसम्म पुग्न दूधकुण्डबाट पदमार्गसमेत निर्माण गरिने उपभोक्ता समितिले जनाएको छ । पर्यटन प्रवर्द्धनको काम भइरहेको बगरे भञ्ज्याङ आसपास ठुला चउर, घाँसे मैदान तथा खर्कहरु रहेको छ ।
भौगालिकरुपमै पर्यटकीय स्थल रहेको बगरे भञ्ज्याङ आसपास लालीगुँरास, चाँप, विभिन्न प्रजातिको सुनाखरी, चिमाल लगायतका फूल तथा जडीबुटी पाइन्छ । मृग, हरिन, घोरल, थार, खरायोलगायत जङ्गली जनावर भेटिने बगरे भञ्ज्याङ आसपास पर्ने डाँडाखर्क खिसापत्रे सामुदायिक वनमा कालिज, प्युरा, मलेवा, ढुकुर, जुरेलीजस्ता विभिन्न प्रजातिका चराचुङ्गी देख्न पाइन्छ ।
बगरे भञ्ज्याङबाट पर्यटकीय स्थल रुपाकोट, मेरुङ, रमितेडाँडालगायतका ठाउँ जाने पदमार्गसमेत निर्माण गरिने योजना बनाइएको छ । प्राकृतिकरुपले भरिपूर्ण चारैतिर हरियाली रहेको उक्त ठाउँमा यसअघि पनि आन्तरिक तथा बाह्य पर्यटक घुम्न तथा वनभोजका लागि जाने गरेका छन् ।
बगरे भञ्ज्याङलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना नगरपालिकाले अगाडि बढाएसँगै सडक स्तरोन्नतिको कामलाई समेत तीव्रता दिइएको छ । कच्ची अवस्थामा सञ्चालन हुँदै आएको दिक्तेल–खार्मी तथा दिक्तेल–पाथेका सडक अहिले धमाधम फराकिलो पार्ने काम भइरहेको नगरपालिकाले जनाएको छ । जिल्लाको उत्तर–पूर्वी क्षेत्रमा पर्ने बगरे भञ्ज्याङ नेपाल सरकारले पैदल यात्राका लागि निर्धारण गरेको १०० पदमार्गअन्तर्गत पर्ने मुन्धुम ट्रेलमा पर्दछ । पर्यटन प्रवर्द्धनका लागि सरकारले निर्धारण गरेको पदमार्गमा पर्ने बगरे भञ्ज्याङको कृत्रिम ताल निर्माणलाई निक्कै महत् वका साथ हेरिएको छ ।
मुन्धुम ट्रेल नाम दिइएको उक्त पदमार्गको ट्रिप गर्दा दूधकुण्ड (नुम्बुर), मकालु, सगरमाथा, कुम्भकर्ण हुँदै कञ्चनजङ्घा समेतको हिमाली शृङ्खला अवलोकन गर्न सकिन्छ । ठुला–ठुला घाँसे मैदान, लमतन्न फैलिएका चौरीखर्क तथा भेडीगोठको बीचबाट डाँडाको शीरैशीर दम्साइलो बाटो उक्त पदमार्गको विशेषता हो ।