काठमाडौँ - आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डविरुद्ध अमेरिका दुई विकेटले विजयी भएको छ। गएराति सम्पन्न खेलमा घरेलु टोली स्कटल्याण्डले दिएको २५० रनको लक्ष्य अमेरिकाले ४९.५ ओभरमा ८ विकेटको क्षतिमा भेट्टायो।
उसका लागि आरोन जोन्स र कप्तान मोनांक पटेलले अर्धशतकीय पारी खेलेका थिए। ८७ बलको सामना गरेका जोन्सले २ छक्का र १ चौकासहित ६२ रन बनाएका थिए। त्यस्तै, मोनांकले ५७ बलमा २ चौका र १ छक्काको सहयोगमा ५० रन जोडेका थिए।
त्यस्तै, जसकरण मल्होत्राले अविजित ३६, गजानन्द सिंहले ३३, सुशान्त मोदानीले २८, स्टिभन टेलरले १६ र इयान हाल्याण्डले १२ रनको योगदान दिएका थिए।स्कटल्याण्डका लागि हम्जा ताहिर, माइकल लीस्क, गेभिन मेनले २/२ र सफियान सरिफले १ विकेट लिएका थिए।
त्यसअघि एबार्डेनस्थित मनोफिल्ड पार्कमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४९ रन बनार्को थियो। उसका लागि अनुभवी ब्याटर कलुम म्याक्लोयडले शतकीय पारी खेलेका थिए।
१४४ बलको सामना गरेका उनले १३ चौका र २ छक्कासहित अविजित १३३ रन बनाएका थिए। त्यस्तै, माइकल लीस्कले ४१, सफियान शरिफले २५ र क्रिस ग्रेभ्सले १४ रनको योगदान दिएका थिए। बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन्। अमेरिकाका लागि इयान हाल्याण्डले ३, स्टिभन टेलर र सौरभ नेत्रावल्करले २/२ विकेट लिएका थिए।
स्कटल्याण्डलाई हराएसँगै अमेरिका विश्वकप लिग-२ को अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। उसले २८ म्याच खेल्दा १३ मा जित र १३ खेलमा हार व्यहोरेको छ। अमेरिकाले २ खेलमा अंक बाँडेको छ। अमेरिकाको जितले यूएई चौथो स्थानमा धकेलिएको छ। उसले २६ म्याच खेल्दा १२ मा जित र ११ खेलमा हारको सामना गरेको छ। यूएईले ३ खेलमा अंक बाँडेको छ।
अमेरिकासँग हारे पनि स्कटल्याण्ड दोस्रो स्थानमा कायम रहेको छ। उसले २८ म्याच खेल्दा १९ मा जित, ७ मा हार र २ खेलमा अंक बाँडेको छ। १०२ म्याच सकिँदासम्म ओमान शीर्ष स्थानमा रहेको छ। पूरा ३६ म्याच खेलेको उसले २१ मा जित र १३ खेलमा हार व्यहोर्यो। त्यस्तै, पाँचौँमा नामिबिया, छैटौँमा नेपाल र सातौँमा पपुवा न्यूगिनी छन्।
नेपालले २० म्याच खेल्दा आठमा जित र ११ खेलमा हार व्यहोरेको छ। नेपालले अझै यो लिगमा १६ म्याच खेल्न बाँकी छ।