सिंगो गाउँ नै पहिरोको जोखिममा

काठमाडौँ - गाउँको पुछारबाट  पहिरो जान थालेपछि बेनी नगरपालिका–१० पात्लेखेत गाउँका स्थानीयवासी उठीबासको त्रासमा छन्।

वर्षौंदेखि जान थालेको बान्द्रेखाल्टी पहिरो र दुई वर्षअघिदेखि जान थालेको पाखेपहिरोले सिंगो गाउँ नै पहिरोको जोखिमा परेको छ। धाँजा फाटेर पहिरो बस्तीतर्फ आउन थालेपछि पात्लेखेतको अधिकांश बस्ती पहिरोको जोखिममा परेका छन्। पहिरोले ७०० रोपनी बढी खेतीयोग्य जमिन बगाएको र ८ हेक्टर बढी वन क्षेत्र सखाप पारेको स्थानीयवासी केदार सुवेदीले जानकारी दिए। “रघुगङ्गा सामुदायिक वन ७५ प्रतिशत क्षेत्र क्षतविक्षत भएको छ, खेतबारी पहिरोले सखाप पार्दै बस्ती नजिक आइसकेको छ, तर पहिरो नियन्त्रणको प्रभाबकारी कदम चालिएको छैन”, उनले भने। 

उनका अनुसार, पहिरोले गत वर्ष चार घर पूर्णरूपमा विस्थापित भइसकको छन्। यामबहादुर राम्जाली, हरि गर्बुजा, खम्मी गर्बुजा, इन्द्रबहादुर रावतसँगै सुकुम्बासीको रुपमा बसोबास गर्दै आउनुभएका गोरे रोकाको घर पहिरोले भत्काएपछि उनीहरुलाई पहिरोले विस्थापित बनाएको छ। बान्द्रेखाल्टीसँग नै जोडिएको पाखाखेत पहिरोले स्थानीय मुरारी हमालको घर भत्काएपछि उनीहरूसमेत अन्यत्रै विस्थापित भएर सरेका छन्। बान्द्रेखाल्टीमा विसं २०१८ मा नै पहिरो गएको स्थानीयवासी बताउँछन्। पछि विसं २०५८ देखि भने यहाँ वर्षौंपिच्छे पहिरो जान थाल्यो तर त्यसको आकार अहिलेको जस्तो उठीबासै लगाउने अवस्थाको थिएन। विसं २०७२ मा गएको भूकम्पको कारण पहिरो नियन्त्रण बाहिर गएको स्थानीयवासी सुवेदीले बताए।

भूकम्पपछि जङ्गलको बीचबाट पहिरो तल रघुगङ्गा नदिनको किनार र माथि बस्तीसम्म नै पुगेको छ। भूकम्पपछि पात्लेखेत भूमिगत पहिरोको थप चपेटामा परेको छ। अहिले यहाँका २५ जना बढी स्थानीयको सयौँ रोपनी खेतीयोग्य समिन पूरै पहिरोले बगाएको छ। धान, गहुँ, मकैलगायतका खाद्यबाली हुने खेतबारीका फाँट पहिरोले खण्डहरमा परिणत गरेपछि स्थानीयवासी चिन्तित बनेका छन्। खेतबारी हुँदै बस्तीसम्म पहिरो आइपुगेर दर्जनौँ घरलाई चिराचिरा पारेको छ। घर, आँगनसमेत चर्किएर जोखिम बढे पनि स्थानीयवासी जोखिम मोलेरै बस्न बाध्य भएका छन्। बान्द्रेखाल्टी पहिरोबाट ३५ र पाखे पहिरोबाट २८ घरधुरी बढी जोखिममा परेका छन्। भएथोक, ओखारी, पाईजागाउँलगायतका टोलबस्ती पहिरोबाट अत्यन्तै जोखिममा छन् । पहिरो रोकथाम र नियन्त्रणको लागि अध्ययनबाहेक कुनै काम हुन नसकेकाले आगामी बर्सातमा सिङ्गो गाउँकै उठीबासको त्रास बढेको बेनी नगरपालिका–१० का कार्यबाहक वडाध्यक्ष लोकबहादुर पुनले बताए।

“घरहरू चर्किएका छन्, खेतबारी सबै पहिरोले बगाउने अवस्था छ, पहिरो नियन्त्रण सजिलो देखिएको छैन, हिउँदयाममा कुनै पनि काम गर्न सकिएको छैन, माथिल्लो निकायबाट अध्ययन भए पनि संरक्षणको र नियन्त्रणको काम सुरु भएका छैनन्”, काबा वडाध्यक्ष पुनले भने। पहिरो नियन्त्रणतर्फ नगए बस्तीलाई स्थानान्तरण गर्नुपर्ने अनिवार्य बनेको अध्यक्ष पुनले बताए। भौतिकसँगै मानवीय क्षतिको जोखिम बढेकाले पहिरो नियन्त्रणको लागि नगरपालिकामार्फत् आवश्यक पहल गरिएको भए पनि अहिलेसम्म कुनै ठोस योजना आएको छैन। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×