काठमाडौँ - अन्ततः सेरेना विलियम्सले विम्बल्डन टेनिस खेल्ने भएकी छिन्। आयोजक अल इंग्ल्यान्ड क्लबले मंगलबार सेरेनाले विम्बल्डन खेल्ने घोषणा गरेको हो।
आयोजकका अनुसार सेरेनालाई महिला एक स्पर्धामा ‘वाइल्ड-कार्ड इन्ट्री’ दिइएको हो। योसँगै सेरेना एक वर्षको अन्तरालपछि ग्रान्डस्लाममा फर्कने भएकी छिन्। २३ पटक ग्रान्डस्लाम उपाधि जितिसकेकी सेरेना महिला टेनिसमा आफ्नो युगको सबैभन्दा ठूलो सुपरस्टार हुन्। सेरेनाले आफूलाई निखार्न ग्रास केर्टमै अर्को साता ओन्स जाबेउरसँग खेल्नेछिन्।
सन् २०२१ को विम्बल्डनमा पहिलो चरणमै घाइते भएपछि सेरेनाले कतै पनि खेलेकी छैनन्। साथै, विम्बल्डनमा पनि एक महिनाअघि सार्वजनिक गरिएको महिला एकल खेल्ने खेलाडीको इन्ट्रीमा सेरेनाको नाम थिएन। सेरेनासँगै अरू आधा दर्जन महिला खेलाडीको नाम पनि सार्वजनिक गरिएको छ।
मंगलबार बिहान फेसबुकमा सेरेनाले ग्रास कोर्टमा सेतो जुत्ता लगाएर उभिएको फोटो राखेर लेखेकी छन्, “एसडब्ल्यू र एसडब्ल्यू१९ २०२२ हामी त्यहीँ भेट्नेछौँ।” एसडब्ल्यू उनको नामको अगाडिको अक्षर हो। एसडब्ल्यू१९ विम्बल्डनको पोस्टल कोड हो।
४० वर्षीया सेरेनाले सातपटक विम्बल्डन टेनिसको उपाधि जितिसकेकी छिन्। २००२ मा पहिलोपटक विम्बल्डन उपाधि जितेकी सेरेनाले पछिल्लोपटक २०१६ मा उपाधि जितेकी थिइन्। २०१८ र २०१९ मा सेरेना उपविजेता बनेकी थिइन्। २०२० मा कोभिड-१९ का कारण प्रतियोगिता हुन सकेन।
२०२१ मा मैदानमा चिप्लिँदा सेरेनाको दायाँ खुट्टामा चोट लागेको थियो।