इन्टरले जित्दा मिलानको बराबरी

काठमाडौँ - इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले सहज जित हात पार्दा साविक विजेता एसी मिलान बराबरीमा रोकिएको छ। इन्टर मिलानले क्रेमोनेसेलाई ३-१ गोलअन्तरले पराजित गरेको हो।

घरेलु टोली इन्टरको जितमा जोआक्विन कोरेआ, निकोलो बरेल्ला र लोउटारो मार्टिनेजले गोल गरेका थिए। क्रेमोनेसेका तर्फबाट डेभिड ओकिरेकीले १ गोल फर्काएका थिए। मिलानोमा मंगलबार राति भएको खेलको १२औं मिनेटमा जोआक्विन कोरेआल गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए।

खेलको ३८औं मिनेटमा निकोलो बरेल्लाले गोल गररेपछि इन्टरको अग्रता दोब्बर बनेको थियो। त्यस्तै, ७६औं मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै इन्टरलाई ३-० ले अघि बढाएका थिए। अन्तिम समयमा क्रेमोनेसेका डेभिड ओकिरेकीले १ गोल गर्दै खेललाई ३-१ को स्थितिमा ल्याए पनि टोलीको हार टार्न पर्याप्त भएन। यो जितसँगै इन्टर चार खेलबाट ९ अंक भएको छ। पराजित क्रेमोनेसे भने अंकविहीन नै रहेको छ।

त्यसैगरी, एसी मिलान भने घरेलु टोली सस्सुलोसँग गोलरहित बराबरीमा रोकिएको हो। खेलको २३औं मिनेटमा सस्सुलोले पेनाल्टीको अवसर खेर फालेको थियो। खेल अवधिभर घरेलु टोलीलाई दवाबमा राखे पनि मिलानले गोल गर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो।

यो बराबरीसँगै मिलानको ४ खेलबाट ८ अंक रहेको छ। सस्सुलोको भने ५ अंक रहेको छ। त्यसैगरी अर्को खेलमा रोमाले मोन्जालाई ३–० गोलअन्तरले हराएको छ। रोमालाई जित दिलाउन पाउलो डिबालाले दुई गोल गरेका थिए। रोजर इबान्जेको नाममा एक गोल रह्यो। यस जितसँगै रोमाले ४ खेलमा १० अंक जोडेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×