पाँचौँ तथा अन्तिम टेस्टमा भारतमाथि इंग्ल्यान्डको जित

काठमाडौँ - इंग्ल्यान्डले पाहुना टोली भारतमाथि पाँचौँ तथा अन्तिम टेस्टमा रोमाञ्चक ७ विकेटको जित निकालेको छ। जितसँगै इंग्ल्यान्डले सिरिज २-२ को बराबरी गरेको छ। भारत र इंग्ल्यान्डबीचको पहिलो टेस्ट ड्र भएको थियो। त्यसपछि दोस्रोमा भारत तथा तेस्रो टेस्टमा इंग्ल्यान्ड विजयी भयो।

भारतले चौथो टेस्टमा जित निकाली सिरिजमा २-१ को महत्वपूर्णअग्रता लियो। भारत सन् २००७ पछि इंग्ल्यान्डको भूमिमा जिततर्फ अग्रसर भएको थियो। भारतले जितका लागि इंग्ल्यान्डसमक्ष ३ सय ७८ रन दिएको थियो। इंग्ल्यान्डले ७६.४ ओभरमा ३ विकेट गुमाएर ३ सय ७८ रन जोड्यो। 

बर्मिघम मैदानमा इंग्ल्यान्डले टेस्ट इतिहासमा पहिलोपटक सर्वाधिक लक्ष्य पछ्याएको हो। यसअघि सन् २०१९ म इंग्ल्यान्डले अस्ट्रेलियाविरूद्ध ३ सय ५९ रनको लक्ष्य पूरा गरेको थियो। टेस्ट सिरिजमा इंग्ल्यान्डका जोए रुट म्यान अफ दी सिरिज भए। उनले सिरिजमा सर्वाधिक ७ सय ३७ रन बनाउनुका साथै २ विकेट हात पारे। पाँचौँ टेस्टमा इंग्ल्यान्डका जोनी बेरिस्टाउ म्यान अफ दी सिरिज भए। उनले दुवै इनिङ्समा शतकीय योगदान दिएका थिए। 

इंग्ल्यान्डको ऐतिहासिक जितमा रुट र जोनीले शतकीय इनिङ्स खेलेका थिए। रुट र जोनीले ब्याटिङ गर्नुअघि इंग्ल्यान्ड १०९-३ को अवस्थामा थियो। दुवैले चौथो विकेटका लागि २ सय ७५ रनको साझेदारी गर्दै इंग्ल्यान्डलाई महत्वपूर्ण जित मात्र दिलाए र,टेस्ट सिरिजमा पराजित हुनबाट पनि जोगाए।

रुटले १ सय ४२ तथा जोनीले १ सय १४ रनको योगदान दिएका थिए। रुटले १ सय ७३ बलमा १९ चौका र १ छक्का प्रहार गरे। जोनीले १ सय ४५ बलमा १५ चौका र १ छक्का प्रहार गरेका थिए। रुटको यो टेस्ट करिअरको २८औंँ शतक हो। २०२१ यता रुटको टेस्टमा ११औँ शतक हो। जोनीको टेस्ट करिअरको १२औँ शतक हो।

जोनीले पहिलो इनिङ्समा १ सय ६ रनको शतकीय योगदान दिएका थिए। इंग्ल्यान्डका लागि दोस्रो इनिङ्समा एलेक्स लिस ५६ रन र ज्याक क्रली ४६ रन जोडे। लिस ६५ बलमा ८ चौका प्रहार गरे। दोस्रो इनिङ्समा भारत २ सय ४५ रनमा अलआउट भएपछि इंग्ल्यान्डले ३ सय ७८ रनको लक्ष्य पाएको थियो। 

भारतका लागि चेतेश्वर पुजाराले ६६ रन र ऋषभ पन्तले ५७ रनको योगदान दिएका थिए। पुजाराले १ सय ६८ बलमा ८ चौका प्रहार गरे। बलिङमा इंग्ल्यान्डका बेन स्टोक्सले ४ विकेट लिएका थिए। पहिलो इनिङ्समा भारतले ४ सय १६ रन बनाएको थियो। पहिलो इनिङ्समा भारतका ऋषभ पन्तले १ सय ४६ रन र रवीन्द्र जडेजाले १ सय ४ रन जोडेका थिए। भारतका लागि दोस्रो इनिङमा जसप्रित ब्रुमराहले २ विकेट हात पारेका थिए। 

अब भारत र इंग्ल्यान्डबीच ३ एकदिवसीय तथा ३ वटै टी-२० सिरिज हुनेछ। भारतका रोहित शर्मा र इंग्ल्यान्डका जोस बटलरले आफ्ना टोलीको कप्तानी गर्नेछन्। इंग्ल्यान्डका इयोन मोर्गानले गत साता अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×