काठमाडौँ - काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)को २०औँ संस्करण बिहीबारदेखि राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा सुरु भएको छ। कमलकुमार निर्देशित चलचित्र ‘बाघको बङ्गारा’ प्रिमियरसँगै किम्फ सुरु भएको हो।
त्यस्तै प्रकाश झा अभिनीत चलचित्र ‘मट्टो की साइकिल’को विशेष स्क्रिनिङ भएको छ। यस्तै सम्राट खनाल निर्देशित ‘थ्रू द सिङगिङ भिलेजर्स’, जाकुब ग्याजेला निर्देशित ‘डू सर अ क्याराकोरम’, बेन टिबेट्स र जोक होल्यान्ड निर्देशित ‘ट्राभर्स’, ग्युलरमो डे ओलिभेरा निर्देशित ‘सौरडग्स’ र एन्टोनी लिचेट निर्देशित चलचित्र ‘बल्ड फर हर्सेस’ प्रदर्शन भएका थिए। फेस्टिभल समापन पोलियो उन्मूलनका लागि एक अस्ट्रेलियन अपांगता भएको व्यक्तिले सगरमाथा चढ्नलाई गरेको प्रयासबारे बनेको फिल्म ‘फ्लाई फ्रम एभरेस्ट’सँगै हुनेछ।
महोत्सवमा अन्तर्राष्ट्रियतर्फ प्रथम, दोस्रो र तेस्रो हुने फिल्मले क्रमशः २ लाख, एक लाख र ५० हजार रुपियाँ पुरस्कारस्वरूप पाउनेछन् भने नेपाली पानोरामा अन्तर्गत फिक्सन र डकुमेन्ट्री विधामा उत्कृष्ट ठहरिएका फिल्मलाई १ लाख र ७५ हजार रुपियाँ नगद पुरस्कार दिइनेछ।