काठमाडौँ - अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले फिल्म ‘प्रकाश’ हेर्दा प्रदीप खड्कालाई चिन्न नसकेको बताएकी छिन्। ‘फिल्ममा प्रदीपलाई हेर्दा ऊ प्रदीप नै होर भन्ने लाग्यो। उसको बोलाई, हिँडाई हेर्दा त्यो रोमान्टिक हिरो त्यही नै होर भनेर सोच्न बाध्य बनायो’ दीपाले भनिन्।
शुक्रबार प्रदर्शनमा आउने फिल्म ‘प्रकाश’ को बुधवार राजधानीमा आयोजित प्रिमियर जतिले फिल्म हेरे सबैले अभिनेता प्रदीपको अभिनयको तारिफ गरेका छन्।
अभिनेता तथा निर्देशक खगेन्द्र लामिछानेले प्रदीपलाई यसप्रकारको क्यारेक्टरमा हेर्दा आफूलाई रमाइलो लागेको बताएका छन्। ‘ट्रेलर र टिजर हेर्दा नै म फिल्म हेर्न एकदमै आतुर थिएँ कर्णालीभन्दा हामी धेरै टाढा छौं’ लामिछानेले भने ‘फिल्मले हामीलाई कर्णालीको जीवनमा लगिदिन्छ। यसप्रकारको मौलिकपन बोकेको फिल्म दर्शकहरुले हेर्नुपर्छ।’
अभिनेत्री नम्रता श्रेष्ठले फिल्मको यात्रामा आफूलाई पनि अनुभूति गरेको बताइन्। कलाकारदेखि निर्देशकसम्म सबैको काम अब्बल लागेको उनको भनाई थियो। शुक्रबारबाट प्रदर्शनमा आउन लागेको जुम्लाको जनजीवनमा आधारित फिल्म ‘प्रकाश’ ले बुधबार बिग मुभिजमा प्रिमियर गरेको थियो। प्रिमियरमा अधिकांशले फिल्म मन परेको प्रतिक्रिया दिएका छन्।
कार्यक्रममा अभिनेता विनय श्रेष्ठ, निर्माता सन्तोष सेन, अभिनेत्री सृष्टि श्रेष्ठ लगायतले पनि अभिनेता प्रदीपको अभिनयबाट आफू प्रभावित भएको बताएका छन्। अभिनेता सौगात मल्लले पनि प्रदीपको अहिलेसम्मकै उत्कृष्ट काम लागेको प्रतिक्रिया दिएका छन्। उनले भने ‘प्रदीपको ‘प्रकाश’ मा उत्कृष्ट काम देखेँ। एकदमै राम्रो लाग्यो।’
कार्यक्रममा अभिनेता प्रदीपले भने सबैबाट पाएको प्रशंसाले मिहिनेत सफल भएको जस्तो लागेको बताएका छन्। ‘प्रायः फिल्मकर्मीको प्रतिक्रिया प्रदीप जस्तो देखिएन भन्ने थियो। मलाई पनि त्यो कुरा महसुस हुन्छ कि हुँदैन भन्ने डर थियो। सबैले प्रदीप जस्तो देखिएन भनेपछि म खुसी भएँ’ प्रदीप खुसी सुनिए।
निर्देशक दिनेश राउतले प्रिमियरमा फिल्मकर्मीबाट प्राप्त प्रतिक्रियाले आफ्नो जिउमा काँडा उम्रेको बताएका छन्। दर्शकबाट पनि यसप्रकारकै प्रतिक्रिया मिल्नेमा आस आफ्नो रहेको सुनाए।
अभिनेता प्रदीप खड्का, अभिनेत्रीद्वय दीया मास्के र रेगु योगीको मुख्य भुमिका रहेको फिल्मले शिक्षक बन्ने सपना बोकेको एक युवकको संघर्षको कथा भनेको छ।