काठमाडौँ। आउँदो शुक्रबार यानिकी फागुन २०बाट चलचित्र ‘लप्पन छप्पन २’ प्रदर्शनमा आउँदैछ। निर्माण पक्षले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन राख्दै चलचित्र प्रदर्शनका लागि तयार रहेको बताएको हो।
मुकुन्द भट्टको निर्देशन रहेको चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, स्व.दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट आदि कलाकारहरुको अभिनय रहेको छ। यसै चलचित्रबाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्त आदि कलाकारहरुले अभिनयमा डेब्यु गर्दैछन्। एक्सन विधामा आधारित चलचित्रमा ग्याङस्टर, राजनीति र अपराधसम्बन्धित कथा समावेश छ।
खिलेन्द्रराज तिमसिना प्रस्तुतकर्ता रहेको चलचित्रमा निर्देशक भट्ट र सुनील नेउरेको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको छायांकन, शम्भुजित बासकोटा, राजेन्द्र भट्ट(मिस्टर आरजे), दीपक आरजे र बुलेट फ्लोको संगीत रहेको छ भने किङ योगी र दिलिप ओकेडाको कोरियोग्राफी, हिमाल केसी र सिमोन तामाङको द्वन्द्व र मिलन श्रेष्ठको सम्पादन रहेको छ। चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र र सन्तोषचन्द्र भक्रेल चलचित्रका निर्माता तथा सुरज अधिकारी र प्रजापति शिवाकोटी कार्यकारी निर्माता रहेका छन्।
गोल्डेन हिल्स पिक्चर्ससँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाले सहकार्य गरी निर्माण गरेको चलचित्र नेपालीसँगै हिन्दी, तमिल, तेलुगु, भोजपुरी र चीनियाँ गरी ६ भाषमा प्रदर्शनमा आउनेछ।