काठमाडाैं । पछिल्ला केही दिनमा कोभिड–१९ तथा यसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेसँगै प्रधानमन्त्रीको नेतृत्वमा रहेको उच्चस्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) निर्देशक समितिले सक्रियता बढाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा शुक्रवार सिंहदरबारमा बसेको सीसीएमसीसी निर्देशक समितिको बैठकले नेपालमा कोभिडको पछिल्लो अवस्थाको विषयमा जानकारी लिएको छ भने आगामी चालिनुपर्ने रणनीतिबारे छलफल समेत गरेको छ ।
गृहमन्त्री बालकृष्ण खाँण, स्वास्थ्यमन्त्री विरोध खतिवडा, अर्थमन्त्री जनार्दन शर्मा, परराष्ट्रमन्त्री नारायण खड्का, मुख्यसचिव र प्रधानसेनापति लगायत सम्मिलित बैठकमा सीसीएमसीका अधिकारीले कोभिडकोे अहिलेको अवस्थाका विषयमा जानकारी गराएका थिए ।
सीसीएमसी प्रवक्ता सहसचिव सुनिता नेपालले अहिलेको कोभिड संक्रमणको अवस्था, खोपको स्थिति, मापदण्ड तथा अब कसरी अघि बढ्न सकिन्छ भन्नेजस्ता विषयमा छलफल भएको जानकारी दिइन् ।
प्रधानमन्त्री देउवाले कोरोनाबारे जनचेतना जगाउने कामलाई तीव्रता दिन निर्देशन दिएका छन् भने खोप अभियानलाई तीव्रता दिन र अत्यावश्यक व्यक्तिका लागि चाँडै बुस्टर डोजको व्यवस्था गर्न पनि निर्देशन दिएका छन् ।
कोभिडको संक्रमण बढ्न सक्ने मध्यनजर गर्दै प्रधानमन्त्री देउवाले अस्पतालमा अक्सिजन लगायतको व्यवस्था गर्न र सीमा क्षेत्रमा होल्डिङ सेन्टर निर्माण कार्यलाई तीव्रता दिन समेत निर्देशन दिए । सीसीएमसीसी बैठकमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले नयाँ भेरियन्ट तथा आगामी तयारीबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
बैठकमा स्मार्ट लकडाउनदेखि हवाई उडानको विषयमा पनि छलफल भएको थियो । प्रवक्ता नेपालीले बैठकमा विभिन्न विषयमा रिपोर्टिङका साथै छलफल भए पनि कुनै निर्णय नभएको जानकारी दिएकी छन् ।
प्रवक्ता नेपालीले सीसीएमसीसीले यसअघि पनि स्थानीय तहमा जोखिमको अवस्था हेरेर स्मार्ट लकडाउनको कार्यविधिअनुसार अघि बढ्न जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई सचेत गराउने गरेकाले अहिले पनि कार्यविधिअनुसार बढ्न सक्ने बताएकी छन् ।
शुक्रवार मात्र २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएपछि सीसीएमसी अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले बैठक बोलाएका थिए । बैठकमा खोप लगाउने मात्रा र कोभिड टेस्ट गराउने मात्रा न्यून रहेको भएको विषयमा पनि समीक्षा भएको थियो । प्रधानमन्त्रीले टेस्ट मात्रा बढाउनुपर्ने विषयमा पनि जोड दिएका थिए । राजधानीमा खबर छ ।