काठमाडौँ - सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य अभिनय रहेको फिल्म ‘माइकल अधिकारी’को ‘छुकछुक रेलगाडी’ गीत सार्वजनिक भएको छ। सोमबार फिल्मको उक्त गीतलाई सार्वजनिक गरिएको हो।
गीतमा प्रताप दास र अस्मिता अधिकारीको स्वर रहेको छ। गीतलाई शंलेस कँडेलले लेखेका छन् भने संगीत रेवन सिंहको रहेको छ। भिडियोमा फिल्मका मुख्य २ कलाकार सौगात र सृष्टि फिचर्ड रहेका छन्। गीतको भिडियोलाई कमल राईको नृत्य निर्देशनमा तयार गरिएको छ।
रञ्जित रौनियारको निर्देशनमा बनेको यो फिल्म सेरोगेसीको कथामा आधारित रहेको छ। पैसाका लागि बच्चा गर्भमा लिने ‘सेरोगेसी’माथि आधारित रहेर सामाजिक कथावस्तुमा फिल्म बनेको बताइएको छ।
फिल्म भदौ ३ गतेबाट प्रदर्शनमा आउनेछ।