तत्कालका लागि समाधान भयो एन्फा विवाद

काठमाडौँ - गत असार ६ गते तत्कालिन अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै अखिल नेपाल फुटबल संघ एन्फाको नेतृत्वमा पंकज विक्रम नेम्वाङ आइपुगेका थिए।

अध्यक्ष बन्नका लागि विभिन्न समूहसँग सहमति गरेर नेतृत्वमा आएका पंकजले निकै सकसपूर्ण समय गुजारेका छन्। सरुकै बैठकमा महासचिवमा किरण राईलाई नियुक्त गरे भने सँगसँगै अन्तर्राष्ट्रिय सम्बन्ध समितिको संयोजकको जिम्मेवारी नविन पाँडेलाई दिएका थिए।

विगतमा बन्द प्रशिक्षण छाडेका १० खेलाडीलाई टिममा फर्काउने सहित विभिन्न निर्णयहरु भएका थिए। त्यतिबेला पहिलो निर्णय हुँदा पाँडेको विषयमा खासै विरोध नभए पनि पछि स्वार्थसमूहहरुले आफू अनुकुलको निर्णय नभएको भन्दै बखेडा झिक्दै जाँदा दोस्रो बैठक २ पटक स्थगित हुन पुगेको थियो।

बैठक पहिलो पटक भने एन्फा अध्यक्ष पंकज विरामी भएका कारण स्थगित भएको थियो। दोस्रो बैठकका एजेण्डाहरुमा चित्त नबुझेपछि विरोध हुँदा स्थगित हुन पुग्यो।

तर, अहिलेलाई विभिन्न विवादहरुलाई पन्छाएर एन्फा अध्यक्ष पंकजले सकारात्मक सन्देश भने दिन सफल भएका छन्। विहीबारको बैठक अघि एन्फा कम्प्लेक्स सातादोवाटोमा अध्यक्ष र महासचिवसँग कुरा गर्दा हाउभाउबाट प्रफुल्लित देखिएका दुवै जना शुक्रबारको बैठक सौहार्दपूर्ण तरिकाले सम्पन्न भने गर्न सफल भएका छन्।

सबैभन्दा बढी विवाद झिकिएको विषय अन्तर्राष्ट्रिय सम्बन्ध समितिको संयोजकलाई जिम्मेवारी परिवर्तन गरेर आफ्नो सल्लाहकार बनाउने निर्णय गर्न पंकज सफल भए। पंकजलाई अध्यक्ष बनाउन महत्वपूर्ण भूमिका खेलेका पाँडेलाई यो निर्णयले झनै सहज बनाइदिएको छ।

यसैगरी मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले स्वास्थ्य लाभ गरिरहेको अवस्थामा नेपाली टिमको कार्यबहाक प्रशिक्षकको रुपमा प्रदीप हुमागाईंलाई जिम्मेवारी दिएको छ। उनले असोज ११ गते बंगलादेशसँग हुने मैत्रीपूर्ण फुटबल प्रतियोगिताका लागि नेपाली टिम सम्हाल्ने भएका छन्।

यसैगरी नेपालको फ्रेन्चाइज फुटबल प्रतियोगिता एनएसएल आयोजनाका लागि पनि बाटो खुला गरिएको छ। निर्णयमा असोज २३ गतेदेखि प्रतियोगिता गर्ने भनिए पनि सँगसँगै विगतमा भएको सम्झौता खारेज गर्दै नयाँ शीराबाट अघि बढ्न खोजिएको छ।

फुटबलबारे जानकारहरुका अनुसार एनएसएल आयोजनका लागि अनुमति दिए पनि आयोजकले विगतमा गरेको सम्झौता अनुसार नै अघि बढ्नु पर्छ भन्ने तर्क गरेमा यसको निकास के भन्ने अन्योल भने कायमै रहेको छ। यस्तै नयाँ कार्यसमितिले फुटबलको मेरुदण्डको रुपमा रहेको लिगहरु आयोजना गर्दैन की भन्ने आंशकालाई पनि केही हदसम्म चिर्ने प्रयास गरेको छ। पुसमा ए डिभिजन लिगको आयोजना गर्ने निर्णय गरेको छ।

भदौमा नेपालमा महिला साफ आयोजना गर्ने, उमेर समूहका अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउने लगाएतका विभिद निर्णयले अहिले केहीहदसम्म  एन्फा चलायमान बनाउन अहिलेको नेतृत्व सफल भए पनि कार्यान्व्यनको पाटो कसरी अगाडि बढाउँछ त्यो भने भविष्यले नै देखाउने छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×