काठमाडौँ । सदा झैँ आज पनि स्वतन्त्र कानुन व्यवसायीहरुले नेपाल बारले सर्वोच्च अदालतमा गरेको आन्दोलनको विरुद्ध प्रदर्शन गरेका छन् । काठमाडौँको नयाँ बानेश्वर स्थीत एभ्रेष्ट होटल अगाडि उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । स्वतन्त्र कानुन व्यवसायीहरुले गरेको उक्त प्रदर्शनमा सैयौँको संख्यामा आम सर्वसाधारणहरुको पनि सहभागीता रहेको छ ।

स्वतन्त्र कानुन व्यवसायीहरुको अभियान भन्दै उनीहरुले पाँच बुँदा सहितको व्यानर प्रस्तुत गरेका छन् । ती पाँच बुँदाहरुलाई यहाँ प्रस्तुत गरिएको छ ।
१. विधिको शाशन कायम गर ।
२. श्रीमान्ज्यूको वेञ्च बहिष्कार गर्न पाइदैन ।
३. राजीनामा निकास होइन, विनास हो ।
४. न्यायापालिका भित्र विदेशी हस्तक्षेप बन्द गर ।
५. भ्रष्ट्रचारीहरुलाई कारवाही गर ।

त्यसै गरी उक्त प्रदर्शनमा विभिन्न नाराहरु सहितका ब्यानरहरु पनि प्रस्तुत गरेका छन् । 'कानूनी सर्वोच्चता कायम गर!', 'स्वतन्त्र न्यायपालिका, हाम्रो चाहना!', 'विधिको शासन कायम गर!', 'दबावको शासन अन्त्य गर!', 'नेपाल जननी जिन्दावाद, नेपाली जनता जिन्दावाद!', 'जनताका मुद्दा हेर्नै पर्छ, जनताले न्याय पाउनै पर्छ!' लगायतका ब्यानरहरु प्रस्तुत गरिएको छ ।

