काठमाडौँ - हङ्गेरीका नवनिर्वाचित राष्ट्रपति कटालिन नोभाकको पहिलो विदेश भ्रमण पोल्याण्ड भएको छ। दुई देशको सम्बन्धलाई थप बलियो बनाउन भन्दै उनले मङ्लबारदेखि नै पोल्याण्डको भ्रमण सुरु गरेको अधिकारीहरुले जानकारी दिएका छन्।
आफ्ना समकक्षी तथा पोल्याण्डका राष्ट्रपति अन्द्रजेज डुडाको निमन्त्रणामा उनले औपचारिक भ्रमण गरेको जनाइएको छ। भ्रमणका क्रममा हङ्गेरीका राष्ट्रपति नोभाकले पोल्याण्डका प्रधानमन्त्री माटेउज माराविक्कीसँग पनि भेटवार्ता गरेका छन्।
राष्ट्रपतिको रुपमा सपथ ग्रहण गरेको तीन दिनपछि नै उनले वैदेशिक भ्रमण सुरु गरेका हुन्। पोल्यान्डका राष्ट्रपति डुडासँगको संयुक्त पत्रकार सम्मेलनमा हङ्गेरीका राष्ट्रपति नोभाकले भने, “पोल्याण्ड र हङ्गेरीको सम्बन्धलाई विषेश महत्व दिँदै थप बलियो बनाउने उद्देश्यले मेरो सबैभन्दा पहिलो वैदेशिक भ्रमण पोल्याण्ड गरेको हुँ।”
दुई देशका विचमा भएका कतिपय असमझदारीहरुलाई पनि आपसी छलफलबाट समाधान गर्न सकिनेमा उनले जोड दिएका छन्। वुडापेस्ट र वार्साका बीचमा धेरै विषयमा मतान्तर रहेका छन्। पछिल्लो समय युक्रेनमाथी रुसले गरेको आक्रमणको विषयमा पनि दुई देश दुई तिर उभिएका छन्।