काठमाडौँ - गायन र नृत्य रियालिटी शो एसईई सिंगिङ आइडल र एसईई डान्सिङ स्टारको नयाँ संस्करण चैत दोस्रो सातादेखि सुरु हुने भएको छ।
‘शिक्षाका लागि संगीत’ भन्ने नाराका साथ चार वर्षदेखि आयोजना हुँदै आएको शोको नयाँ संस्करण ओखलढुंगाबाट सुरु हुने बिहीबार धरानमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।
शोको अडिसन प्रदेश १ का १४ वटै जिल्लामा गरिने आयोजक डम्बरकुमार तुम्बापोले जानकारी दिएका छन्। किशोरकिशोरीमा निहित गायन र नृत्य प्रतिभालाई उजागर गर्न प्रतियोगिता आयोजना गरिएको तुम्बापोले बताएका छन्। प्रतियोगितामा एसईई दिने विद्यार्थी सहभागी हुन पाउँछन्।
अडिसनको फारम र तालिमका लागि कुनै पनि शुल्क तिनु नपर्ने आयोजकले जनाएको छ। विजेताले ट्रफीका साथमा ५० हजार रुपैयाँ नगद पुरस्कार, कक्षा १२ अध्ययन गर्न ३ लाख बराबरको पूर्ण छात्रवृत्ति, उपहार र मुस्ताङ भ्रमणको अवसर प्राप्त गर्नेछन्।
फस्ट रनरअपले ३० हजार रुपैयाँ र कक्षा १२ मा ८० प्रतिशत छात्रवृत्ति, सेकेण्ड रनरअपले नगद २० हजार र कक्षा १२ मा ७० प्रतिशत छात्रवृत्ति र उत्कृष्ट १० जनालाई कक्षा १२ मा ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिने जनाइएको छ।
प्रदेश नम्बर १ स्तरीय संगीत र गायनको रियालिटी शो २०७५ सालदेखि फक्ताङलुङ मिडिया हाउस प्रालिले आयोजना गर्दै आएको छ।