काठमाडौँ - ज्येष्ठ नागरिकका हकहितमा क्रियाशील संस्था ज्येष्ठ नागरिक सरोकार समाज नेपालले सय वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै पुगी सम्मान गर्ने अभियान थालेको छ।
संस्थाले ज्येष्ठ नागरिकप्रतिको सामाजिक उत्तरदायित्वसमेत बहन गर्दै सय वर्षमाथिका नागरिकलाई सम्मान गर्दै उनीहरुबाट आशीर्वाद लिने अभियानलाई संस्थागत रूपमै अघि बढाएको हो। दोसल्ला र सम्मानपत्रले सम्मान गर्ने व्यवस्था छ। ज्येष्ठ नागरिक समाजका गौरव रहेको र उनीहरूका अनुभव पछिल्लो पुस्ताका लागि प्रेरणादायक हुने कुरालाई आत्मसात् गर्दै उनीहरूको आत्मसम्मानका लागि पनि सम्मान जरुरी ठानी यो अभियान सुरु गरिएको समाजका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बताए। उनका अनुसार २०७२ सालबाट सुरु गरिएको उक्त अभियानअन्तर्गत हालसम्म सय वर्षदेखि ११५ वर्षसम्मका समाजका १२ जना आमाबुबालाई उनीहरूको घरमै पुगेर सम्मान गरिँदै आएको छ।
“समाजका ज्येष्ठ नागरिकहरुले आप्mनो जीवनको ऊर्जाशील समय परिवार, समाज र राष्ट्रका लागि योगदान गरेका हुन्छन्,” अध्यक्ष श्रेष्ठले भने, “पछिल्लो समय सन्तान आफ्नो जिम्मेवारीबाट वृद्ध आमाबुबाप्रति गर्नुपर्ने दायित्व र जिम्मेवारीबाट पन्छिने प्रचलन बढेकामा दुःख लाग्दछ।" संस्थाले पोखरा महानगरपालिका–३१ पचभैयाका ११५ वर्षीय धनकुमारी गुरुङ, भक्तपुर नगरकोटकी १०७ वर्षीय सुनकान्छी लामिछाने, पोखरा– १२ शीतलादेवीका लालबहादुर गुरुङ र १०२ वर्षीय यारु गुरुङ, पोखरा–१९ पुरन्चौरकी १०१ वर्षीया धनमाया गौतम, पोखरा–३२ लामेआलकी १०२ वर्षीया मानकुमारी श्रेष्ठ र कास्की लिप्यानीका १०१ वर्षीय तिलोत्तमा न्यौपानेलाई सम्मान गरिसकेको छ।
त्यसैगरी, मादी गाउँपालिका तारकाङ्का १०१ वर्षीय वामदेव सापकोटा, पोखरा–१० का १०३ वर्षीय कुलबहादुर गुरुङ, पोखरा–१३ आर्वाका १०२ वर्षीय टीकाराम बराल, पोखरा–२७ कन्दनिडाँडास्थित पूर्वसभामुख तारानाथ रानाभाटकी १०१ वर्षीया आमा खिमकुमारी रानाभाटलाई सम्मान गरिएको संस्थाका उपाध्यक्ष केशवप्रसाद ढकालले बताए। सम्मानितमध्ये सुनकान्छी लामिछाने, कुलबहादुर गुरुङ र मानकुमारी श्रेष्ठ अहिले पनि जीवितै छन् भने अन्य सम्मानित समाजका अग्रज आमाबुबाको स्वर्गारोहण भइसकेको यहाँ आयोजित एक ज्येष्ठ नागरिकको सम्मान कार्यक्रममा उनले जानकारी गराएका हुन्।
पोखरा महानगरपालिका–७ माछापुच्छ्रे टोल निवासी १०४ वर्षीय इन्द्रकला पाध्या गौतमलाई सोमबार सम्मान गरिएको छ। ज्येष्ठ नागरिक सरोकार समाज नेपालले सम्मान गरेको हो ।