बुटवल । लुम्बिनी प्रदेश सरकारले जेठ २१ गते (सोमबार) आगामी वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । शुक्रबार दाङको देउखुरीमा बसेको मन्त्रिपरिषद्को बैठकले आव २०८१/०८२ को सरकारको नीति कार्यक्रम सोमबार सार्वजनिक गर्ने निर्णय गर्दै प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश प्रमुख अमिक शेरचनलाई आग्रह गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री दिनेश पन्थीले मन्त्रिपरिषद् बैठकले सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, प्रदेश योजना आयोगको उपाध्यक्षमा कपिलवस्तुका सरोज खनाललाई नियुक्त गर्नेसहित विभिन्न अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्टको परिवर्तन एवं सरुवा गर्ने निर्णय गरेको जानकारी दिए । ‘सोमबार सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेदेखि योजना आयोगको उपाध्यक्ष र अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्टहरुको सरुवा एवं हेरफेर गर्ने निर्णय भएका छन्,’ उनले भने, ‘सरकार बजेट निर्माणमा पनि जुटेको छ, त्यसैले योजना आयोगलाई पूर्णता दिनेगरी उपाध्यक्ष नियुक्त गरिएको हो ।’