काठमाडौँ - स्पेनिस क्लब बार्सिलोनाका पूर्व चार कप्तान आगामी सिजन क्लबमा नरहन पनि सक्ने समाचार सार्वजनिक भएको छ।
मार्काका अनुसार बार्साका मालिकहरुको इच्छा अनुसार उनीहरुलाई टोलीबाट हटाउन लागिएको छ। सर्जियो बस्क्वेट, जेरार्ड पिके, जोर्डी अल्बा र सर्गी रोबर्टो आउँदो सिजनमा क्लबमा हुने छैनन्। उनीहरु चारै जनाले बार्सिलोनामा अहिलेका प्रशिक्षक जावी हर्नान्डेजसँगै खेलका थिए।
रोर्बटो र सर्जियोको अनुबन्ध सन् २०२२ अर्थात यो वर्षसम्मको मात्र रहेको छ। जनवरी २०२३ मा यी दुवै कप्तानले अर्को क्लबहरुसँग सम्झौता गर्न सक्ने छन्। आल्बा र पिकेको सम्झौता भने आउँदो वर्षसम्मका लागि रहेको छ। तर धेरै तलब बुझ्ने गरेका पीके र अल्बालाई क्लबले बेच्न चाहेको बताएको छ।
टिममा रहे पनि अल्बा र पीके लामो समयदेखि चोटका कारण मैदान उत्रिएका छैनन्। सर्जियोले भने नियमित रुपमा टिममा स्थान पाइरहेका छन्। तर सर्जियो कतार विश्वकप पछि अमेरिकी लिग एमएसएल क्लबमा जाने सोचाइमा छन्। खेल्ने उमेरको उत्तरार्धमा पुगेका उनले एमएसएलमा गएर खेल जीवन त्याग्ने तयारी गरेका छन्।