गण्डकी - होटल सङ्घ पोखरा नेपालले हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णयलाई स्वागत गरेको छ। सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले आज एक विज्ञप्ति जारी गरी आगामी जेठ १ गतेबाट लागू हुने गरी मन्त्रिपरिषद्ले गरेको शनिबार र आइतबार दुई दिन बिदा दिने व्यवस्थाले पर्यटन क्षेत्रमा सकारात्मक असर पर्ने उल्लेख गरेका छन्।
लामो समयदेखि विविध समस्या झेल्दै आएको पर्यटन क्षेत्रमा दुई दिने बिदाको व्यवस्थाले केही रुपमा भए पनि व्यवसायमा राहत पुग्ने विश्वास लिइएको विज्ञप्तिमा उल्लेख छ। सङ्घले दुई दिन बिदाको व्यवस्थालाई लामो समयदेखि माग गर्दै आएको पनि अध्यक्ष सुवेदीले स्मरण गरे। कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र नै हुन पुगेको र दुई दिने बिदाको व्यवस्थाले कोरोनाबाट थलिएको पर्यटन क्षेत्रलाई केही रुपमा भए पनि चलायमान बनाउन र आर्थिक गतिविधि बढाउन थप मद्दत पुग्ने विश्वास सङ्घले लिएको विज्ञप्तिमा भनिएको छ।