हालान्डको गोलमा नर्वेको जित

काठमाडौँ - इर्लिङ हालान्डको दुई गोलप्रेरित नर्वेले आइतबार राति यूईएफए नेसन्स लिग ‘बी’मा स्विडेनलाई ३-२ ले हराएको छ। 

इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटीसँग अनुबन्ध भएका हालान्डले दशौं मिनेटमा गरेको गोलबाट नर्वेले अग्रता लिएको थियो। उनले ५४औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै अग्रता दोब्बर बनाएका थिए। 

२१ वर्षे हालान्डले नर्वेबाट २१ खेलमा २० गोल गरेका छन्। उनले एलेक्जेन्डर सोर्लोथको गोलमा पनि अवसर सिर्जना गरिदिएका थिए। 

६२औं मिनेटमा इमिल फोर्सबर्गले गरेको गोलबाट स्विडेनले पुनरागमनको प्रयास गरेको थियो। तर, ७७औं मिनेटमा नर्वेको एलेक्जेन्डर सोर्लोथले अर्को गोल थपेपछि स्विडेनको सम्भावना सकिएको थियो। इन्जुरी समयमा भिक्टोर ग्योकेरेसले गोल गरे पनि स्विडेनलाई धेरै ढिला भइसकेको थियो। 

अपराजित रहेको नर्वे जितसँगै १० अंकका साथ समूह-४ को शीर्ष स्थानमा रहेको छ। स्विडेन तीन अंकका साथ तेस्रो स्थानमा रहेको छ। सर्विया सात अंकका साथ दोस्रो स्थानमा रहेको छ। स्लोभेनिया दुई अंकका साथ चौथो स्थानमा रहेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×