काठमाडौँ। कुनै समय नेपाली सिने जगतमा तहल्का पिटेका अभिनेता विराज भट्ट र रमित ढुंगानाको भेट भएको छ। उनीहरुले एकसाथ 'देवर बाबु', 'दुर्गा', 'ट्याक्सी ड्राइभर', 'हिम्मत' लगायतका चलचित्रमा काम गरेका छन्। नेपाली दर्शकहरू उनीहरुको चलचित्रको पर्खाईमा बसिरहेका छन्। तर, लामो समय देखि रमित ढुंगाना चलचित्र क्षेत्रबाट टाढा छन् भने विराज भट्ट भोजपुरी चलचित्रमा व्यस्त छन्। उनीहरुको भेट शुक्रवार इटहरी (सुनसरी) मा भएको हो। भोजपुरी चलचित्रको छायांकनका लागि नेपाल आएका विराज र रमितको यस भेटबाट प्रशंसकहरू निकै उत्साहित बनेका छन् र उनीहरुलाई एकसाथ चलचित्रमा देख्न पाउने आश राखिरहेका छन्। उक्त भेटको तस्विर सामाजिक सञ्जालबाट सार्वजनिक गर्दै रमितले क्याप्सनमा ‘जीवनदाता’ लेखेका छन्। ‘जीवनदाता’ रमित र विराटको सफल चलचित्र हो। उनको सो क्याप्सनका कारण प्रशंसकहरू सञ्जालमा ‘जीवनदाता २’ बनाउनु पर्ने माग राखिरहेका छन्। उक्त भेटमा चलचित्रमा सहकार्य गर्ने सल्लाह पनि भएको स्रोतले जनाएको छ।