काठमाडौँ - पर्यटन प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै नेपाल पर्यटन बोर्डले बलिउड फिल्म ‘उचाइ’का निर्देशक र कलाकारलाई सम्मान गर्ने तयारी थालेको छ। चलचित्र विकास बोर्डमा भएको बैठकमा पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीले बोर्डले यस्तो तयारी गरिरहेको बताएका छन्।
‘उचाइ’का निर्देशक र कलाकार नेपाल आउने अवस्था रहे राष्ट्रपति वा प्रधानमन्त्रीकै स्तरबाट सम्मान गरिने उनले बताएका छन्। यदि उनीहरु नेपाल आउने अवस्था नभएमा भने मुम्बई पुगेरै सम्मान गर्ने उनले जानकारी दिएका छन्।
बैठकमा सहभागी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले पर्यटन बोर्डसँग बोर्डले सहकार्य गर्ने बताएका थिए। बोर्डले उचाइका निर्देशक र कलाकारको सुटिङ अनुभवसम्बन्धी भनाइलाई वेबसाइटमा समेत राख्ने भएको छ। उचाइका नेपाल वितरक सुनिल मानन्धरका अनुसार आगामी शुक्रबार सिभिल मलस्थित हलमा पर्यटन व्यवसायीले हल नै बुकिङ गरेर फिल्म हेर्ने भएका छन्।
उचाइले मंगलबारसम्म नेपाली बक्स अफिसबाट १ करोड १५ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ। बुधबारदेखि शो र अकुपेन्सीमा पनि वृद्धि भएको छ। राम्रो वर्ड अफ माउथ भएकाले फिल्मले आउने साता पनि राम्रो कमाइ गर्ने अनुमान छ।
बलिउड कम्पनी राजश्री प्रोडक्सनले निर्माण गरेको फिल्मलाई सुरज वर्जत्यले निर्देशन गरेका हुन् भने अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर र परिणिती चोपडाको प्रमुख भूमिका रहेको छ।