काठमाडौं – इङ्ग्लिस क्लब चेल्सीका जर्मन डिफेन्डर एन्टोनी रुडीगरले सिजनको अन्त्यमा चेल्सी छाड्ने भएका छन्। चेल्सीका प्रशिक्षक थोमस टुचेलले सञ्चारमाध्यमसँग कुरा गर्दै आफ्ना डिफेन्डर रुडीगरले सिजनको अन्त्यमा क्लब छाड्ने भएको बताएका छन्।
उनलाई राख्न क्लबले सक्दो प्रयास गरे पनि रुडीगर आफ्नो निर्णयमा अडिग रहेको उनले बातएका छन्। रुडीगर अब स्पेनिस क्लब रियल मड्रिड जाने लक्ष्यमा रहेको बताइएको छ।
रुडीगर सन् २०१७ मा इटालियन क्लब रोमाबाट २९ मिलियन युरोमा ५ वर्षको लागि चेल्सी गएका थिए। उनले क्लबका लागि एक युरोपेली च्याम्पियन लिग, युइएफए सुपर कप, युरोपा लिग, एफए कप, क्लब वर्ल्ड कप जितेका छन्। उनी क्लबका लागि एक महत्वपूर्ण हिस्सा बनिसकेका थिए। अब उनको स्थान लिन सक्ने खेलाडी भित्र्याउन क्लबलाई निकै कठिन हुनेछ।