इलाम । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक इगो र आवेगमा संसदलाई बन्धक बनाउनु नहुने बताएका छन्।
इलाममा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री शर्माले नेकपा एमालेले आफ्नो पार्टीले निष्कासन गरेको सांसदलाई बैठकमा राख्न नहुने भन्दै निरन्तर रूपमा सदन अवरोध गर्नु जायज नभएको बताए ।
महामन्त्री शर्माले एमालेले सभामुखले गरेको निर्णयमा असहमति राख्न पाइने भएपनि त्यसलाई मान्नुपर्ने बताए ।
गठबन्धनको सन्दर्भमा गरिएको प्रश्नमा महामन्त्री शर्माले कांग्रेसले ठिक समयमा ठिक निर्णय लिने भन्दै आगामी निर्वाचनमा पनि यसरी नै हुनेछ भन्ने ठोकुवा गर्न नमिल्ने बताए । अहिलेको गठबन्धनले आफ्नो दायित्व पुरा गर्नुपर्ने महामन्त्री शर्माको धारणा छ ।
महामन्त्री शर्माले एमसीसीको बारेमा भने अध्ययन समितिको रिपोर्ट आएपछि मात्रै के गर्ने भन्ने टुङ्गो लाग्ने प्रतिक्रिया दिए । समितिले गहिरो अध्ययन गरेर रिपोर्ट ल्याउने र सोही अनुरुप अघि बढ्ने महामन्त्री शर्माको भनाइ छ ।