काठमाडौँ - आयरल्यान्ड महिला क्रिकेट टोलीले युएईमा जारी आइसिसी वुमन्स टि-२० विश्वकप छनोटको पहिलो सेमिफाइनलमा जिम्बावेलाई ४ रनले हराउँदै आगमी वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकपमा स्थान बनाएको छ। रोमान्चक जितका साथ फाइनलमा पुग्दै आयरल्यान्डले चौथो पटक महिला टि-२० विश्वकपमा स्थान पक्का गरेको हो।
जितको लागि १ सय ३८ रनको विजयी लक्ष्य पछ्याएको जिम्बावेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३३ रन बनायो। जिम्बावेकी ओपनर शार्न मेयर्सले ३६ बलमा ५ चौकासहित सर्वाधिक ३९ रन बनाएकी थिइन्।
कप्तान मेरी एन मुसोन्डाले २९ बलमा ३ चौकासहित ३१ र जोसेफिएन एनकोमोले १८ रन बनाइन्। जिम्बावेकी नोमवेलो सिबांडा र केलिस न्द्लोवसले २/२ विकेट लिए।
जिम्बावेलाई अन्तिम ६ बलमा १५ रन चाहिँएको थियो। आयरल्यान्डकी कप्तान लौरा डेलानीले १० रन खर्चेर विश्वकपमा स्थान पक्का गरिन्। आयरल्यान्डकी जेन मागुइरे र अर्नेल केलीले २/२ विकेट लिए।
त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर पहिला ब्याटिङ थालेको आयरल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३७ रन बनाएको थियो। आयरल्यान्डकी ओर्ला प्रेंडरगास्टले २५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक २८ रन बनाएकी थिइन्।
ओपनर एमी हन्टर १९,जेमि लेविस ११, कप्तान लौरा डेलानी २२ र रेबेका स्टोकेलले २६ रन बनाएका थिए। दोस्रो सेमिफाइनलमा थाईल्यान्ड र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ। विजेता टोली विश्वकपमा पुग्नेछ। फाइनल खेल आइतबार हुनेछ।
आयरल्यान्ड चौथो पटक महिला टि-२० विश्वकपमा पुगेको हो। यसअघि आयरल्यान्डले २०१४, २०१६ र २०१८ को महिला टि२० विश्वकप खेलेको थियो।