पोखरा - नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फुुल कन्ट्याक्ट कराँते खेलमा गण्डकी र नेपाल आर्मीले समान ३ स्वर्ण जितेका छन्। शनिबार राति सकिएको खेलमा कराँतेमा पुुरुषका ७ र महिलाका ५ विधा गरी १२ विधामा प्रतिष्पर्धामा भएको थियो।
गण्डकीले पुरुषतर्फको ३०-४०, ४५-५० तौल समूहमा स्वर्ण र महिलातर्फको ५०-५५ तौल समूहमा एक स्वर्ण जितेको हो। त्यसैगरी नेपाल आर्मीले खुला तौल समूह पुरुष, महिला र ६०-६५ केजी तौल पुरुष समूहमा स्वर्ण जितेको हो।
खेलमा पुरुषतर्फको खुला तौल समूहमा नेपाल आर्मीका विजय सिंहले स्वर्ण जितेका छन्। उनले गण्डकीका रुपक नेपालीलाई फाइनलमा पराजित गरी स्वर्ण जितेका हुन्। सातौं र आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेका नेपालीको ह्याट्रिक गर्ने दाउमा आर्मीका सिंह तगारो बने। नेपालीले रजत पदकमा चित्त बुझाएका छन्।
पुरुषतर्फकै ६०-६५ केजी तौल समूहमा पनि नेपाल आर्मीका सनी सिंहले स्वर्ण जितेका छन्। उनले गण्डकीका शिव भुजेललाई पराजित गरी स्वर्ण जितेका हुन्। भुजेलले रजत पदक जितेका छन्।
पुरुष तर्फकै ५५-६० केजी तौल समूहमा नेपाल प्रहरीका सुशन लामिछानेले स्वर्ण र नेपाल आर्मीका विकास गुरुङले रजत पदक जितेका छन्। पुरुषतर्फकै ५०-५५ केजी तौल समूहमा मधेश प्रदेशका धरमिन्दर रामले स्वर्ण जित्दा नेपाल आर्मीका चोकबहादुर बुढाथोकीले रजत पदकमा चित्त बुझाएका छन्।
यसैगरी ४५-५० केजी तौल समूहमा गण्डकीका अनिष बुढामगरले वागमतीका विजय राईलाई पराजित गरी स्वर्ण जितेका छन्। वागमतीका राईले रजतमा चित्त बुझाए।
४०-४५ केजी तौल समूहमा सशस्त्र प्रहरीका सुनिल तामाङले स्वर्ण जितेका छन् भने आर्मीका राजकुमार यादवले रजत पदक जितेका छन्। पुरुषतर्फको ३५-४० तौल समूहमा गण्डकीका अभिषेक डिमडुङले नेपाल आर्मीका सागर थिङलाई फाइनलमा पराजित गरी स्वर्ण जितेका छन्। थिङले रजत पदक पाएका छन्।
महिलातर्फको खुला तौल समूहमा नेपाल आर्मीका मञ्जु विकले स्वर्ण पदक जितेकी छिन्। उनले वागमती प्रदेशकी निशा बोहोरालाई पराजित गरी स्वर्ण जितिन् भने बोहोराले रजत पदक पाइन्।
५०-५५ केजी तौल समूहमा गण्डकीकी धनी रानामगरले नेपाल आर्मीका पत्रिका चन्दलाई पराजित गरी स्वर्ण जित्न सफल भइन्। चन्दले रजत पदकमा चित्त बुझाइन्। ४५-५० केजी तौल समूहमा वागमती प्रदेशकी नविना धमालले स्वर्ण जित्दा सशस्त्र प्रहरीकी करिष्मा कार्कीले रजत पदक जितिन्।
४० देखि ४५ केजी तौल समूहमा सशस्त्र प्रहरीकी रिना माझीले नेपाल प्रहरीकी अञ्जना ढुंगेललाई पराजित गरी स्वर्ण जितेकी छिन् भने ढुंगेलले रजत पदक जितेकी छिन्।