पाल्पामा फस्टायो तरुल व्यापार; किसान दंग

काठमाडौँ । पाल्पामा व्यावसायिकरूपमा तरुलको खेती अझै हुन नसकेको भए पनि माघी नजिकिँदै जाँदा तरुलको व्यापार फस्टाउँदै गएको हुँदा किसान दंग परेका छन्। 

कन्दमुलअन्तर्गत पर्ने तरुलका लागि अझै पनि वनकै भर गर्नुपर्ने बाध्यता छ। तर माघेसङ्क्रान्तिमा तरुल तथा चाकु खानैपर्ने हिन्दू परम्पराअनुसार पर्व नजिकिँदै जाँदा तरुलको व्यापार पनि निकै फस्टाएको हो। तानसेनका बजार क्षेत्रमा जङ्गल र खेतबारीमा उत्पादित तरुल तथा सखरखण्डको माग प्रशस्त छ। तरुल उसिनेर, आगोमा पोलेर तथा तरकारीका रूपमा खाने चलन छ। माघेसङ्क्रान्तिका अवसरमा सामाजिक तथा सांस्कृतिक महत्वका कारण पनि तरुल खाने चलन रहिआएको छ। तानसेन नगरपालिका–२ का कुशल पाण्डेयले पछिल्ला दुई दिनको अवधिमा २०० किलो तरुल र सखरखण्डको व्यापार गरेको बताए। पहिला तरुलको माग यति धेरै थिएन, मकरसङ्क्रान्तिका अवसरमा बजारमा तरुलको माग बढेको छ। उनले भने, “ अन्य तरकारीभन्दा तरुल बिक्री बढी छ।” तानसेन नगरपालिका–२ नारायणस्थानकै तरकारी व्यवसायी विक्रम अधिकारीले तरुलको मागअनुसार पूर्ति गर्न समस्या भएको बताए। तानसेन बजारमा स्थानीय जङ्गल तथा खेतबारीमा उत्पादित तरुल बिक्रीका लागि राखिएको छ। अहिले दैनिक ५० किलोभन्दा बढी तरुल बिक्री हुँदै आएको उनको भनाइ छ। मकरसङ्क्रान्ति नजिकै आएपछि दैनिक ५० किलोग्रामसम्म तरुल बेच्न थालेको अधिकारीले बताए।

बगनासकाली गाउँपालिका–३ आर्यभञ्याङका यमबहादुर घर्तीमगरले अहिले गाउँमा उत्पादित तरुल सदरमुकाम तानसेनमा थोक मूल्यमा बिक्री गर्दै आएका छन्। गाउँमा उत्पादित तरुल उनले तानसेनमा मात्र चार क्विन्टल बिक्री गरी राम्रो आम्दानी गरेका छन्। थोक रु. १२० मा बिक्री हुन्छ। वनमा फलेको तरुल खनेर तानसेन बजारमा बिक्री गर्नेहरूको पनि यतिबेला कमी छैन। डोकोमा बोकेर एक किलोग्रामका पोकामा तरुल हातमा झुण्ड्याएर बिक्री गर्नेहरूले पनि दैनिक राम्रो आम्दानी गरेका छन्। प्रतिकिलो रु. १२० देखि रु. १५० सम्म तरुल बिक्री हुन्छ  भने दैनिक १५ देखि २० किलोग्राम बिक्री हुँदै आएको तिनाउ गाउँपालिका–४ सत्यवतीका ओमप्रकाश दर्लामीले बताए। पाल्पाको पूर्वी क्षेत्रमा उत्पादित तरुल जिल्ला बाहिर निर्यात हुँदै आएको छ तर पाल्पालगायत पहाडी जिल्लामा व्यावसायिक तरुल खेतीप्रति स्थानीय सरकारको चासो देखाइएको छैन।

जमिनमुनि फल्ने फल रहेकाले तरुलमा कुनै विषादी हुँदैन। यसमा रोग तथा किराको आक्रमणसमेत नहुँदा खानका लागि उपयुक्त भएकाले पनि तरुलको माग बढेको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×