काठमाडौँ - आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर म्याग्दीका राजनीतिक दलहरूले सक्रीयता बढाएका छन्।
ग्रामीण क्षेत्रमा राजनीतिक सरगर्मी बढेको हो। वडा र पालिकाका सम्भावित उम्मेदवार तथा परिणामको चर्चा हुन थालेको छ। नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा लगायत दलले उम्मेदवार छनोट अन्तिम चरणमा पुर्याएका छन्। वडा र टोल स्तरमा भेला, सम्मेलन र जनभेटघाट अभियान सकेका प्रमुख दलहरू उम्मेदवार छनोटको अन्तिम तयारीमा रहेको जनाएका छन्। तालमेलको विकल्प खुल्ला राख्दै उम्मेदवार छनोटमा जुटेका हुन्। मत सर्वेक्षण गरेर चुनावी परिणामलाई आफ्नो पक्षमा पार्न स्वतन्त्र मतदातालाई आकर्षित गर्ने र अन्य पार्टीका मतदाता तान्ने रणनीतिमा दलहरुले जोड दिएका छन्। मतदाता भने नागरिकको नजिकको सरकारका रुपमा रहने स्थानीय तहमा सक्षम, योग्य र दूरदर्शी योजना बनाएर कार्यान्वयन गर्न सक्ने नेतृत्वको आवश्यकता रहेको बताउँछन्।
अन्नपूर्ण गाउँपालिका–६ बिरौटाका सुबोध बरुवालले स्थानीय समस्या पहिचान र सम्बोधनका लागि अगुवाइ गर्न सक्ने व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने सुझाव दिए। “जनताको समस्या र आवश्यकता बुझेर काम गर्न सक्ने उम्मेदवार बनाउनुपर्छ,” उनले भने, “सबै दलहरूले सक्षम र योग्य व्यक्तिलाई उम्मेदवार बनाए भने मतदातालाई विवेक प्रयोग गर्न सजिलो हुन्थ्यो।” बेनी –५ भिरमुनीका सुनिल पौडेलले चुनाव नजिकिएसँगै गाउँमा राजनीतिक सरगर्मी बढेको बताए। वैदेशिक रोजगारीबाट हालै स्वदेश फर्किएका पौडेल युवाको रोजगारी, गुणस्तरीय स्वास्थ्य, वैज्ञानिक शिक्षा, सन्तुलित विकास, शुसासन र पारदर्शिताको मुद्दा अवको चुनावी एजेण्डा बन्नुपर्ने बताए। राजनीतिक योगदान गरेका, स्वच्छ छवी, सामाजिक भावना र अनुभवी व्यक्तिलाई मतदाताले उम्मेदवारका रूपमा चाहेका छन्।
माओवादीले बेनी –१ मा नरबहादुर थापा, बेनपा–३ मा पदम पुन, अन्नपूर्ण गाउँपालिका–२ मा ओम फगामी, रघुगङ्गा–२ मा नरबहादुर भण्डारी, मालिका–१ मा तिलक पुन, मालिका–३ मा मोतिप्रसाद बुढा, मालिका–४मा रेशम पुन, मालिका–७ मा रुविन जुग्जाली, धौलागिरि–६ मा चक्र पुन, धौलागिरि–७ मा अशोक खत्रीलाई वडा अध्यक्षको उम्मेदवार छनोट गरिसकेको जिल्ला संयोजक रेशम जुग्जालीले जानकारी दिनुभयो । चैत २७ गतेसम्म वडा र पालिकाका उम्मेदवार सिफारिस गर्न समय दिएको छ।
बेनी–१ मा टेकबहादुर थापा, बेनपा–६ मा कृष्णसिंह बानिया र बेनपा–१० मा मसविर रोकालाई उम्मेदवार बनाउने निर्णय गरेको एमालेले यही चैत २५ गतेभित्र उम्मेदवारको सिफारिस गर्न पालिका कमिटीलाई निर्देशन दिएको जिल्ला अध्यक्ष देवेन्द्र केसीले जानकारी दिएका छन्। त्यस्तै, कांग्रेस म्याग्दीका कोषाध्यक्ष अमृतमान शेरचनले वडा र पालिकाका उम्मेदवार छनोटका विषयमा छलफल गर्न सोमबार जिल्ला कार्यसमितिको बैठक बोलाइएको जानकारी दिए। एक महिने अभियानका क्रममा वडा र पालिकाको सिफारिस र खटिएका प्रतिनिधीको प्रतिवेदनका आधारमा उम्मेदवार छनोट गरिने उनले बताए।
सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच चुनावी तालमेलको सम्भावना भए पनि औपचारिक रूपमा छलफल भने भएको छैन। छवटा स्थानीय तहमा ४५ वटा वडा रहेको म्याग्दीमा ८५ हजार ३७५ जना मतदाता कायम भएका छन्। जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले ७४ मतदानस्थल र ११४ मतदान केन्द्र कायम भएको जानकारी दिए।