काठमाडौं । राजधानीको बौद्धस्थित ह्यात रिजेन्सी होटलको रिगल बल रुममा आइतबारको साँझ फेसन, स्टाइल र ग्ल्यामरको समिश्रणमा अनुपम र मनमोहक सृजनाका विविध आयामहरुलाई साक्षात्कार गर्ने अवसर मिल्यो ।
नमूना कलेज अफ फेसन टेक्नोलजीको १८औं ब्याचका ७१ जना ग्राजुएटिङ फेसन डिजाइनहरुले तयार पारेका ८ वटा क्रिएटिभ वेयर गरी ७९ वटा सृजनाहरु ¥याम्पमाथि प्रस्तुत गरिएको अवलोकन गर्न पाइयो ।
नमूना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरको रनवे उपस्थितिसँगै शुभारम्भ भएको उक्त ग्राजुएसन फेसन शो निर्मिति नव्यता शीर्षकमा सम्पन्न भएको थियो । शान्ति र समृद्धिको सुन्दर संयोजनमा डिजाइन गरिएको सकरात्मकता, स्वाबलम्बन, सीप र शिक्षाको भाव झल्किने डिजाइनर साडीमा उपस्थिति दर्शाएकी ज्ञानी शोभा तुलाधरको रनवे उपस्थितिलाई शान्ति र समृद्धिलाई झल्काउने विविध तत्वबाट प्रेरित पहिरनमा सजिएका मोडलहरुले साथ दिएका थिए ।
चार वर्षको ब्याचर अफ फेसन डिजाइन एण्ड म्यानेजमेन्टको अन्तिम सेमेष्टरको पढाई अन्तर्गतको प्रयोगात्मक परिक्षाको एउटा महत्वपूर्ण पाटोको रुपमा रहेको ग्राजुएसन फेसन शोमा यसपटक मिस्टिकल क्रिएचर अवधारणामा योकाई, फ्रुटि टोन्स अवधारणमा अलंकृत फल, चेन चिक इन डेनिम कुटर अवधारणामा जेन मेराकी, हार्मोनिया भेस्टिस अवधारणामा हार्मोनिया भेस्टिस, फजेज् अफ प्रिसिपिटेसन अवधारणामा मिड नाइट रेन, ¥याडिएन्ट रिफ्लेक्सन अवधारणामा आर्ट डेको ग्ल्याम, म्याक्रोम अवधारणामा रग एल्युर तथा फ्रस्टी फ्लोरिसेस् अवधारणामा फ्रस्टि अरा गरी ८ वटा विविधता युक्त अवधारणामा पहिरनहरु प्रस्तुत गरिएका थिए ।