काठमाडौँ - पोखरामा जारी छैटौं संस्करणको शुभकामना गोल्डकपमा खुमलटार युथ क्लबलाई हराउँदै आयोजक हेम्जा युनाइटेड फाइनलमा प्रवेश गरेको छ।
हेम्जाको गौरी शंकर खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा खुमलटारमाथि २-० गोलको अग्रता बनाउँदै आयोजकले फाइनलको यात्रा तय गरेको हो। हेम्जाको जितमा दुवै गोल कमल थापा मगरले गरेका थिए। खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिए पनि दोस्रो हाफमा भने हेम्जाले २ गोल गर्न सफल भएको हो।
खेलको १०औं मिनेटमा हेम्जाका सुनील विकले अग्रता गर्ने सुवर्ण अवसर खेर फाले। पेनाल्टी क्षेत्रमा खाली रहेका उनलाई संजोक केसीले उत्कृष्ट पास दिए पनि उनले भेट्न सकेनन्। १२औं मिनेटमा खुमलटारका दिवस छन्त्यालले २ डिफेन्डरको बीचबाट गरेको शसक्त प्रहारलाई हेम्जाका गोलरक्षक एन्जल श्रेष्ठले उत्कृष्ट बचाउ गरेका थिए। उक्त बलमा पाएको कर्नरमा कप्तान आशिष श्रेष्ठको हेडर क्रसबार नजिकैबाट बाहिरिँदा अग्रता लिने अर्को अवसर गुमेको हो।
खेलको ५३औं मिनेटमा हेम्जाका कमलले अग्रता दिलाए। उनले बायाँ एरियाबाट गरेको उत्कृष्ट प्रहार गोलमा परिणत भएको थियो। उनले खेलको ६७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आयोजकलाई फाइनलको यात्रा पक्का गराए।
हेम्जाका प्रशिक्षक सौरभजंग कार्कीले आफूहरू योजनाअनुरूप खेल्दा जित हासिल गर्न सफल भएको प्रतिक्रिया दिए। उनले खुमलटारको कम्जोरीको फाइदा उठाउँदा जित हासिल गर्न सफल भएको बताए। उता खुमलटारका म्यानेजर अञ्जन रानाले आफूहरूले रक्षात्मक तरिकाको खेल खेल खेल्दा स्ट्राइक लाइनमा निकै समयस्या आएको सुनाए।
प्रतियोगिताअन्तर्गत बिहीबार अफ्रिकी क्लब एभिनियर र चर्च ब्वाइजबीच फाइनल प्रवेशका लागि अन्तिम खेल हुँदैछ।