२ वर्षपछि स्टेज शो गर्दै नेपथ्य

काठमाडौँ - कोरोना भाइरसले सिंगो विश्वलाई दुई वर्षभन्दा बढी बिथोलेपछि अब विस्तारै परिस्थिति अनुकूल बन्दै गएको संकेत देखिएका छन्।

यस बीचमा मानव जातिले ठूलो क्षति बेहोर्नु पर्‍यो। हामीलाई एकापसमा जोड्ने सारा गतिविधि ठप्प भए। कहालीलाग्दो अवस्थाबाट सामान्यतर्फको यो संक्रमणलाई संगीतमय बनाउने पहलमा नेपथ्य फेरि आफ्ना शुभचिन्तक दर्शक श्रोताहरुको सामुन्ने उभिने तयारीमा जुटेको छ। भौगोलिक अवस्थिति, राजनीतिक वातावरण र सम्पर्कका आधारमा पछिल्लो समय दमक प्रदेश १ कै अर्को केन्द्रका रुपमा विकास हुँदै गइरहेको छ। पछिल्लो कन्सर्टका बेला पनि धरान, विराटनगर हुँदै इलामसम्मका दर्शकले त्यहाँ उपस्थिति जनाएका थिए। त्यो शहरमा नेपथ्यको यो पाँचौ प्रस्तुति हुँदैछ।

कोरोना भाइरसले उसको कठोर पञ्जा विश्वभर फैलाउनुअघि नेपथ्यले आफूलाई राजधानी काठमाडौंकै भृकुटी मण्डपमा उपस्थित गराएको थियो। २०७६ साल फागुन १७ गतेको त्यो पछिल्लो कन्सर्ट एउटा गाउँले विद्यालयको पुनः निर्माणका लागि आयोजना गरिएको थियो। त्यो नै विश्व महामारीअघि नेपथ्यको अन्तिम प्रस्तुति बन्न पुग्यो। यसपटकको नेपथ्य कार्यक्रम दुई वर्ष पछिको अन्तरालमा हुँदैछ। ‘यसबीच मैले लगभग सम्पूर्ण समय कास्कीको अनकन्टार डाँडामा रहेको आफ्नो गोठमा कृषक भएर बिताएँ,’ नेपथ्यका अगुवा एवं मुख्य गायक अमृत गुरुङ भन्छन्, ‘जटिल बन्दै गएको कृषि कर्ममा घोत्लिँदै जाँदा विनाशउन्मुख प्रकृति र संकटग्रस्त मानव जीवनबीचको सम्बन्ध अझ खुल्दै गए।’

त्यो एकान्तिक अवधिमा संगीतको अभ्यासलाई पनि जारी राखेको उनी सुनाउँछन्। ‘वैज्ञानिकहरुको अथक प्रयासले यसैपाला इतिहासमै सबैभन्दा छिट्टो यो भाइरस विरुद्धको भ्याक्सिन पनि तयार भयो,’ अमृत थप्छन्, ‘अब विस्तारै हामी सबैले आ–आफ्ना कर्महरुबाट संसारलाई पूर्ववत् अघि बढाउनुपर्ने दायित्व आइपुगेको छ।’ नयाँ वर्षकै दिन दमकमा आयोजना हुने नेपथ्यको कन्सर्ट हाम्रा तितो विगतलाई विसाएर नयाँ दिनको स्वागत गर्ने जमघटका रुपमा पनि महत्त्वपूर्ण हुने अमृतको विश्वास छ। उनका अनुसार कन्सर्टमा सदाझैँ नेपथ्यका सर्वकालीक हिट गीतहरु प्रस्तुत गर्नुका साथै केही नयाँ प्रस्तुतिको तयारी पनि अघि बढिरहेको छ।

दमकमा यो कन्सर्ट सफल पार्नका निम्ति स्थानीय ‘नेपाली टच’ र ‘ध्रुवतारा स्पोर्टिङ क्लब’ ले तयारी अघि बढाइसकेको छ। ध्रुवतारा स्पोर्टिङ क्लबले आफ्नो स्थापनाको तीस वर्ष मनाउने अवसरका रुपमा पनि यो आयोजनामा अग्रसरता देखाएको हो। ‘दर्शकको सुविधालाई ध्यानमा राखेर हामीले आवश्यक तयारीहरु अपनाएका छौं,’ आयोजक नेपाली टचका राज गोश्वामी भन्छन्। यो कन्सर्टको टिकट बिक्रीका निम्ति दमकबाहेक काँकडभिट्टा, बिर्तामोड, उर्लाबारी, इटहरी, पथरी, लेटाङ, धरान, विराटनगर, गौरादह र दुधेमा समेत बिक्री केन्द्र राखिएका छन्। स्थानीय आयोजकका अनुसार टिकटको मूल्य भने एक हजार रुपैयाँ राखिएको छ। अनलाइन टिकटको निम्ति ( www.thuprai.com/nepathya )मार्फत् व्यवस्था गरिएको छ।

सँधैझैँ तोकिएकै अवधिमा सुरु हुने यो कन्सर्टका लागि उक्त दिन बेलुकी ठीक पौने पाँच बजे मैदानका ढोका खोलिनेछन्। र, त्यसको प्रारम्भ हुँदैछ पूर्वको उज्यालो शहर दमकबाट। आगामी वैशाख १ गते अर्थात् नयाँ वर्षको दिनलाई संगीतमय बनाउन चाहने नेपथ्यप्रेमीहरुका निम्ति झापाको फराकिलो मैदानले स्वागत गर्ने भएको छ। दमकको ‘इँटाभट्टा स्कुल’ अर्थात् सरस्वती माध्यमिक विद्यालयको प्रांगणमा नेपथ्य फेरि एकपटक उभिने भएको छ। यसभन्दा पहिले पनि नेपथ्यले चार हजारभन्दा बढी दर्शकको उपस्थितिमा त्यसै मैदानमा आफूलाई उभ्याएको थियो। ‘संगीतप्रेमी दर्शकहरुका निम्ति हामीले यसपाला पनि नेपथ्यलाई उत्तिकै भव्यतापूर्वक उभ्याउने तयारी गरेका छौं,’ ब्याण्डको व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘नेपथ्यप्रेमीलाई नयाँपन महसुस गराउने थप जमर्को पनि हुनेछ।’

यसरी खुला आकाशको चौरमा प्रस्तुत हुनुअघि उक्त शहरका अघिल्लो तीनवटा कन्सर्ट सिनेमाहलमा आयोजना गरिएका थिए। पछिल्लो खुला कन्सर्टका निम्ति भने पाँचवटा ट्रकमा काठमाडौंदेखि लोड गरेर आधुनिक मञ्चदेखि प्रकाश व्यवस्था हुँदै ध्वनी प्रणालीसमेत त्यहाँ पुर्‍याइएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×