‘काठमाडौँ उपत्यका मेयर फोरम’ ब्युँतिदै

काठमाडौँ - उपत्यकाका पालिकाबीचमा सहकार्य गर्न पुनः उपत्यकाका मेयर फोरमलाई सक्रिय बनाइन लागिएको छ। पहिलो स्थानीय तहको निर्वाचन पछि गठन भएको सो सस्थाको पहिलो पटक चन्द्रागिरिमा नै बसेको थियो।

यसका लागि चन्द्रागिरि नगरपालिकाले सक्रियता देखाएको छ। फोहरमैला व्यवस्थापन, खानेपानी, कर, ट्राफिक व्यवस्थापन र पर्यटनका क्षेत्रमा साझा अवधारणा तय गरी काम गर्न फोरमले सहयोग पुग्ने नगरप्रमुख गिरीले जानकारी दिए।

उनले भने, “उपत्यका मेयर फोरमको बैठकको आतिथ्यता चन्द्रागिरिले गर्ने छ। बैठक राख्न मैले समन्वय गरिराखेको छु। छिट्टै फोरमको बैठक हुन्छ। त्यही बैठकमा उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुङ्गामा स्क्यानिङ मेसिन राख्नेलगायत विषयमा कुरा राख्छु।”

काठमाडौँ महानगरपालिकाले नागढुङ्गामा स्क्यानिङ मेसिन राख्न सकारात्मक रहेको जनाएको छ। शनिबार फोहर व्यवस्थापनसम्बन्धी कुराकानी गर्न चन्द्रागिरि पुग्नुभएका कामपाका प्रमुख बालेन्द्र साहले भने, “नागढुङ्गामा भेइकल स्क्यानिङ मेसिन राख्ने चन्द्रागिरिका मेयरसावको प्रस्तावमा म सकारात्मक छु। मेसिन खरिदमा कसरी सहकार्य गर्ने भन्ने विषय अध्यन गरौँ। सम्भव हुन्छ भने नाकामा नै ‘वासिङ मेसिन’ पनि राखौँ।”

कलङ्की–नागढुङ्गा राजमार्गमा गुड्ने ठूला सवारी साधन तथा स्थानीय बसमा समेत अनिवार्य फोहर राख्न ‘डस्टबिन’राख्नुपर्ने प्रावधानलाई नगरपालिकाले कडाइ गर्ने जनाएको छ। नगरपालिकाले कुहिने र नकुहिने फोहर सङ्कलनका लागि नगरवासीलाई झोला वितरणको तयारीसमेत गरेको चद्रागिरि नगरप्रमुख गिरीले बताए।

नगरपालिकाले ‘उज्यालो चन्द्रागिरि अभियान’ अन्तर्गत पहिलो चरणमा कलङ्की–नागढुङ्गा–पिपलामोड सडकखण्डका विभिन्न स्थानमा ८० थान उच्च प्रविधिको सिसी क्यामरा तथा ५०० सडक बत्ती जडान गरेको थियो। यसबाट सो राजमार्गमा सडक दुर्घटना न्यूनीकरणमा ऐतिहासिक सहयोग मिलेको थियो। नगरपालिकाले चालु नयाँ आर्थिक वर्षमा पनि सो राजमार्गसहित नगरका अन्य अधिकांश मुख्य तथा भित्री सडकमा आवश्यकताका आधारमा सिसी क्यामरा तथा सडक बत्ती जडान गर्ने जनाएको छ।

उनले भने, “पहिलो चरणमा उक्त सडकखण्डमा ८० थान उच्च प्रविधिको सिसी क्यामरा र करिब ५०० थान सडकबत्ती जडान गरिएको थियो। यसै वर्ष आवश्यकताअनुसार राजमार्गसहित नगरका अन्य अधिकांश मुख्य र भित्री मार्गमा पनि सडक बत्ती जडान गर्ने काम हुन्छ।”

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×