काठमाडौँ - नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत आजदेखि पोखरामा सुरु भएको महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले वियजी सुरुवात गरेको छ। पोखरा रंगशालाल क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा मधेश प्रदेशले गण्डकी प्रदेशलाई ४० रनले पराजित गरेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ७७ रन बनायो। मधेश प्रदेशका बलरले शानदार प्रदर्शन गरेपछि ७८ रनको लक्ष्य पछ्याएको गण्डकी १९ ओभरमा ३७ रनमै अलआउट भएको थियो। गण्डकीका लागि शिला क्षेत्रीले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
गण्डकीलाई अलआउट गर्न मधेश प्रदेशका अनुराधा चौधरीले ४ ओभरमा १ मेडन राख्दै ८ रन खर्चेर सर्वाधिक ४ विकेट लिएकी थिइन्। कप्तान कविता गौतम र शान्ती चौधरीले समान २ विकेट लिएका थिए। कविताले ४ ओभरमा १ मेडन राख्दै ६ र शान्तीले ४ ओभरमा ८ रन खर्चिन्। सन्तोषी चौधरीले ३ ओभरमा ५ रन खर्चेर १ विकेट लिएकी थिइन्।
त्यसअघि मधेश प्रदेशका लागि ब्याटिङमा सरस्वती कुमारीले अविजित १५ रन बनाइन् भने साना प्रभिन र एलिसा यादवले समान १४ रन बनाएका थिए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। रोजी कडारी ९ रनमा अविजित रहेकी थिइन्।
गण्डकी प्रदेशका लागि आकृति तिवारीले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिइन्। कुसुम गोदारले ३ ओभरमा १ मेडन राख्दै ६ रन खर्चेर २ विकेट लिएकी थिइन्।
जितपछि मधेशले समूह ए मा २ अंक जोडेको छ। असोज २८ गते नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन हुने भए पनि महिला क्रिकेट भने आजदेखि नै सुरु भएको हो।