साताअघि भागदौडमा ८ जनाको ज्यान गएको रंगशालामै अफ्रिकन कपको फाइनल

 काठमाडौँ- भागदौडका कारण ८ जनाको ज्यान गएको स्टेड ओलेम्बे रंगशालामै अफ्रिका कप अफ नेसन्सको फाइनल खेलाउन अनुमति दिइएको छ। साताअघि रंगशाला प्रवेश गर्न लागेका क्यामरुनी समर्थकबीच भागदौड मच्चिदा दुर्घटना भएको थियो। २४ जनवरीमा भएको भागदौडमा एक बालकसहित ८ जनाको मृत्यु भएको थियो।

अफ्रिकी फुटबल महासंघ (काफ) ले फेब्रुअरी ३ मा आयोजक देश क्यामरुन र इजिप्टबीचको दोस्रो सेमिफाइनल तथा फेब्रुअरी ६ मा फाइनल खेलाउन अनुमति दिएको छ। अस्थायी निलम्बन फुकुवा गर्दै काफले फाइनल खेलाउन अनुमति दिएको हो।

‘अतिरिक्त सुरक्षा प्रावधानबारे सरकारको सिफारिस र संवेदनशीलता ध्यानमा राख्दै काफको आयोजना समितिले सर्वसम्मत रूपमा यो रंगशालाको निलम्बन फुकुवा गर्ने निर्णय गरिएको छ,’ काफबाट जारी वक्तव्यमा भनिएको छ, ‘स्थानीय आयोजक समिति र क्यामरुन सरकारले स्टेड ओलेम्बे रंगशालाको सुरक्षा तथा सुविधामा उल्लेख्य वृद्धि गरेको छ । दर्शक र पाहुनाको सुरक्षा सुनिश्चितता हुनेछ भन्नेमा हामी विश्वस्त छौं ।’

गत साता सोमबार क्यामरुन र कोमोरसबीचको खेलअघि यो दुर्घटना भएको थियो । रंगशालाको दक्षिण गेटमा जम्मा भएका ठूलो संख्यामा समर्थकबीच भागदौड मच्चिएको थियो। दुर्घटनामा घाइते ३८ जनाको उपचार भइरहेको छ। प्रत्यक्षदर्शीले एएफपीलाई जानकारी दिएअनुसार प्रहरीले प्रवेशद्वार खोल्नुभन्दा अगाडि नै जम्मा भएको ठूलो भीडबाट एक्कासि केही समर्थक चिच्याउन थालेपछि भागदौड मच्चिएको थियो।

क्यामरुनका खेलकुदमन्त्रीले शुक्रबार यो घटनामा सुरक्षाकर्मीलाई नै दोष दिएका थिए। उनले रंगशाला पुनः सञ्चालनका लागि आवश्यक सबै मापदण्ड पूरा गर्न तयार रहेको बताएका थिए। ६० हजार दर्शक क्षमताको यो रंगशाला यही प्रतियोगिताका लागि निर्माण गरिएको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×