म्याग्दी - म्याग्दी जिल्लाको मालिका गाउँपालिका–७ खाराबाट धवलागिरि गाउँपालिका–४ खाम्ला जोड्ने सडकको मार्ग खुलेको छ। धवलागिरि गाउँपालिका, म्याग्दीखोलामा निर्माण हुन लागेका जलविद्युत् आयोजना, प्रदेश र सङ्घीय सरकारले पछिल्लो पाँच वर्षयता १० किलोमिटर दूरीको यो सडकको विभिन्न ठाउँमा मार्ग खोलेका छन्।
म्याग्दी नदीमा ३७ मेगावाट क्षमताको अपर म्याग्दी, ५३ मेगावाट क्षमताको अपर म्याग्दी–१ र ५७ मेगावाट क्षमताको म्याग्दी हाइड्रोपावर जलविद्युत् आयोजना निर्माणको चरणमा छन्। जलविद्युत् आयोजना निर्माणस्थलमा ढुवानी र आवतजावतका लागि निर्माण भएको सडकबाट स्थानीयवासीलाई पनि सुविधा पुगेको छ।
धवलागिरि गाउँपालिका–खिवाङका किसान पुनले खारा–खाम्ला सडक निर्माण भएपछि भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने खाम्ला, खिवाङ, चेचुङ, नाउरा, बगरका बासिन्दाका साथै धवलागिरि हिमाल आरोहण गर्न आउने पर्वतारोहीलाई पनि सुविधा पुगेको बताए।
यसअघि खिवाङबाट खारा हुँदै मालिका गाउँपालिकाको केन्द्र दरवाङ पुग्न तीनदेखि चार घण्टा लाग्ने गरेकामा यात्रा अवधि एक घण्टामा छोटिएको छ। शिवरात्रि, बाँसबोट, खारालगायतका स्थानमा अक्करे भिरको चट्टान फुटाएर सडक बनाइएको छ। आवतजावत, ढुवानी, जडीबुटी र स्थानीय कृषि तथा पशुजन्य उत्पादन निकासीमा सहज भएको स्थानीयवासीले बताएका छन्।
धवलागिरि गाउँपालिकाका निवर्तमान अध्यक्ष थमसरा पुनले वर्षौँअघि निर्माणको अनुमति लिएर बसेका जलविद्युत् आयोजनालाई गति दिन पहल र सहजीकरण गरिएको बताए। खाम्लामा पुगेको सडकलाई खिबाङ पु¥याउन पालिका र प्रदेश सरकारको रु एक करोड ३३ लाख बजेटमा मार्ग खोल्ने काम भइरहेको पनि उनले बताए।
गाउँपालिकाको केन्द्र मुनाबाट मुदी पुगेको सडकलाई विस्तार खिवाङ र मुदीको सिमानामा लगिएको छ। अपर म्याग्दी–१ को बाँध निर्माणस्थल नजिक पुगेको सडकलाई अपर म्याग्दी र म्याग्दीखोला जलविद्युत् आयोजनाले विस्तार गरेर नाउरा–बगर हँुदै धवलागिरि आधार शिविर नजिकको दोभानमा पुर्याउन लागेका छन्।