काठमाडौँ - साफ यू-२० च्याम्पियनसीप पुरुष फुटबल प्रतियोगिता सोमबारबाट हुने भएको छ। च्याम्पियनसपीमा सहभागिताका लागि भारतको भुवनेश्वर पुगेका नेपाली टोलीले कालिंगा स्टेडियममा हुने उद्घाटन खेलमा नेपालले सोमबार माल्दिभ्सको सामना गर्नेछ।
नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समयअनुसार सोमबार ४ः१५ बजेबाट सुरु हुनेछ।
साफको फाइनल पुग्ने लक्ष्य लिएको नेपाल सुखद सुरुवातको योजनामा रहेको छ। नेपाल पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोड्न चाहन्छ। माल्दिभ्ससँगको खेल अघि प्रि-म्याच कन्फरेन्समा नेपाली टोलीका कप्तान आयुष घलानले खेलका लागि धेरै मेहनत गरेको बताएका छन्।
नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले तयारी राम्रो गरेको कारण प्रतियोगिताका लागि उत्कृष्ट टिम बनाएको बताएका छन्। माल्दिभ्सका प्रशिक्षक अहमद साकिरले नेपाली टोलीको खेल कस्तो छ भनेर आफुलाई थाहा नभएको जनाएका छन्। च्याम्पियनसीपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ।
नेपालले माल्दिभ्सपछि श्रीलंकासँग बुधबार खेल्नेछ। त्यस्तै भारतसँग आगामी आइतबार र अन्तिम खेल बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ। शीर्ष २ टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्नेछन्।