काठमाडौँ - साफ यू-२० च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ। भुवनेश्वरको कालिंगा स्टेडियममा भएको खेलमा भारतले अतिरिक्त समयमा ५-२ गोल अन्तरको जीत दर्ता गर्दै उपाधि घरमै राख्न सफल भएको हो।
निर्धारित समय दुवै टिमले २-२ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा भारतले थप ३ गोल गर्दै उपाधि जित्न सफल भयो। खेल सुरु भएको ३० सेकेन्डमै भारतले पेनाल्टी पाएको थियो।
उक्त पेनाल्टीलाई गुरकित सिंहले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए। खेलको पहिलो हाफको ४५ औं मिनेटमा बंगलादेशका राजोन मेहले बराबरी गोल गरेका थिए।
दोस्रो हाफको सुरुमै बंगलादेशले अग्रता लिन पुगेको थियो। ४८ औं मिनेटमा सहिम अहमदले गोल गरेपछि बंगलादेश २-१ ले अघि बढेको थियो। ६० औं मिनेटमा गुरकित सिंहले व्यक्तिगत दोस्रो गोल गर्दै खेल पनि २-२ को बराबरीमा ल्याएका थिए। त्यसपछि निर्धारित समयमा दुवै टिमले थप गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो।
अतिरिक्त समयको ९२ औं मिनेटमा हिमान्सु जांग्राले गोल गर्दै भारतलाई ३-२ को अवस्थामा लगेका थिए। लगतै गुरकितले व्यक्तिगत ह्याट्रिक पुरा गर्दा भारत ९३ औं मिनेटमा ४-२ को अवस्थामा पुगेको थियो।
९९ औं मिनेटमा गुरकितले व्यक्तिगत चौथो तथा टिमका लागि पाँचौं गोल गरेका थिए। गुरकित यो प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी पनि बनेका छन्। उनले कुल ८ गोल गरेका थिए।