काठमाडाैँ - 'बिबिसी मास्टरसेफ प्रोफेसनल्स २०२१' का उपविजेता तथा 'बिबिसी मास्टरसेफ रिम्याच २०२१' का विजेता सन्तोष साहमाथि फिल्म बन्ने भएको छ। यो फिल्म दीपक रौनियारले निर्देशन गर्नेछन्।
निर्देशक रौनियारले फिल्मको स्क्रिप्टबारे छलफल भइरहेको जानकारी दिए।
'अहिले हामी कुराकानीको क्रममा छौं। फिल्ममा उहाँको जीवनका के कस्ता कुरा राख्ने भन्ने निर्णय भएको छैन,' निर्देशक रौनियारले भने। रौनियारले यसअघि फिल्म 'सेतो सूर्य' निर्देशन गरेका थिए। हाल उनी 'द स्काइ इज माइन' को निर्देशनमा व्यस्त छन्।
सिराहाको कर्जन्हामा जन्मिएका सन्तोष साह बेलायतमा बसोबास गर्छन्। १५ वर्षको उमेरमा भारतको गुजरातमा काम गर्न गएका सन्तोषले त्यहाँ विभिन्न होटलहरूमा काम गरे।
त्यसपछि सन् २०१० को अन्त्यमा बेलायत गएका उनी अहिले सिनामोन ग्रुपमा हेडसेफका रूपमा कार्यरत छन्। नेपाली परिकारलाई विश्वमाझ चिनाउने अभियानमा रहेका मास्टरसेफ साहलाई नेपाल सरकारले पर्यटन दूतमा समेत नियुक्त गरेको छ।