मनोज पाण्डेविरुद्ध मानव बेचबिखन र बालबालिकाविरुद्ध कसूरमा जाहेरी

काठमाडौँ - सौन्दर्य प्रतियोगिताको नाममा बालिका बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेविरुद्ध मानवबेचबिखन तथा ओसारपसार विरुद्धको कसुर र बालबालिका विरुद्धको कसूरमा दुई वटा जाहेरी दर्ता भएको छ।

बुधबार सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो सार्वजनिक गर्दै आठ वर्ष पुरानो घटनाबारे खुलासा गरेकी युवतीको मानवबेचबिखन र अर्की पीडित किशोरीको बालबालिकाविरुद्धको कसूरमा जाहेरी दर्ता भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदीप गिरीले बताए।

गिरीका अनुसार दुई जाहेरीका आधारमा अनुसन्धानका लागि म्याद थप गर्न पाण्डेलाई सोमबार जिल्ला अदालत, काठमाडौं उपस्थित गराइएको छ। उनले भने, ‘सरकारी वकिलमार्फत म्याद थप गर्नका लागि लगेका छौं, दुई मध्ये कुनै एकमा म्याद थप हुन्छ र थप अनुसन्धान अघि बढ्छ।’

जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धानका लागि एक वर्षे हदम्याद तगारो बनेको थियो। अहिले बलात्कारको कसूरमा रहेको हदम्याद हटाउन माग गर्दै सडकदेखि सदनसम्म तातिरहेको छ। तत्कालका लागि मानवबेचबिखन सम्बन्धी कसूरमा म्याद थपेर अघि बढ्ने निर्णय भएको छ।

यसअघि पाण्डेलाई अभद्र व्यवहारको कसूरमा म्याद थप गरेर अनुसन्धान अघि बढाउने तयारी थियो। तर महान्यायाधिवक्ता कार्यालयको राय र अन्य कानून व्यवसायीहरुसँगको छलफलपछि मानवबेचबिखन विरुद्धको कसूरमा अनुसन्धान अघि बढाउने टुंगो लागेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×