युएईलाई हराउँदै हङकङ एसिया कपमा

काठमाडौँ - युएईलाई हराउँदै हङकङले शनिबार देखि युएईमा सुरुहुने टि-२० एसिया कपमा स्थान बनाएको छ। टि-२० एसिया कप छनोटको निर्णायक खेलमा बुधबार राती हङकङले युएईलाई ८ विकेटले हराउँदै एसिया कपमा पुगेको हो। हङकङले एसिया कपमा विश्व क्रिकेटका २ उत्कृष्ट टोली भारत र पाकिस्तानसँग खेल्नेछ।

जितको लागि १ सय ४८ रनको लक्ष्य पछ्याएको हङकङले १९ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो। हङकङको जितमा यासिम मुर्तजाले ४३ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ५८ रन बनाएका थिए। निजाकत खानले ३९ बलमा ५ चौकासहित ३९ रन नै बनाए। बाबर हायतले २६ बलमा १ चौका र ३ छक्कासहित ३८ रनमा अविजित रहेका थिए।

त्यसअघि अलमरेत क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ गरेको युएई १९.३ ओभरमा १ सय ४७ रनमा अल आउट भएको थियो। युएईका कप्तान सिपी रिजवानले ४४ बलमा ४ चौकासहित सर्वाधिक ४९ रन बनाएका थिए। जवार फरिदले २७ बलमा २ चौका र ३ छक्कासहित ४१ रन बनाएका थिए। मोहम्मद वासिम १८, चिराग सुरी ४ र वृत्य रविन्दले २ रन बनाएका थिए।

हङकङका एहसान खानले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिएका थिए। आयुश शुक्लाले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए। अजिज खानले १.३ ओभरमा ८ रन खर्चेर २ विकेट लिएका थिए। हङकङ ३ खेलमा अपराजित रहँदै ६ अंकका साथ शीर्ष स्थानमा रहेर एसिया कप खेल्न लागेको हो।

कुवेत ३ खेलमा २ मा जितका साथ दोस्रो, युएई ३ खेलमा १ मा जितका साथ तेस्रो र सिंगापुर जित बिहीन हुँदै बाहिरिएको छ। एसिया कप शनिबारबाट युएईमा सुरु हुनेछ। समूह ए मा भारत, पाकिस्तान र हङकङ हुँदा समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्। हरेक समूहका शीर्ष २ टोली सुपर फोरमा प्रतिस्पर्धा गर्नेछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×